close

घाँसखेती गर्ने किसानलाई शतप्रतिशत अनुदान

घाँसखेती गर्ने किसानलाई शतप्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकाले घाँसखेती गर्ने किसानलाई गोबर मलमा अनुदान दिने भएको छ । 

नगरपालिकाभित्रका बाँझो जमिन भएको क्षेत्रमा समूहमार्फत कम्तीमा एक बिघामा घाँसखेती गर्न चाहने किसानलाई सो खेतीमा लाग्ने गोबर मलमा शतप्रतिशत अनुदान दिन लागिएको नगरपालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत  डा श्यामकृष्ण तिवारीले जानकारी दिए ।  

देवचुली नगरपालिकाले यस कार्यक्रम सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिसकेको छ । पशुपालक किसानलाई दानामा हुने लागत घटाउन यस्तो कार्यक्रम गर्न लागिएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए ।

पशुपालक किसान उत्पादनमा लागत बढ्दा समस्यामा परेका छन् । नगरप्रमुख न्यौपानेले भने, “दानाको मूल्य बढ्दै जाने, अर्कातर्फ उत्पादित वस्तुको मूल्य लगानीको तुलनामा कम हुने, यसले गर्दा किसान मारमा छन्, हामी केही भए पनि नगरस्तरबाट किसानका समस्या समाधान गर्ने प्रयासमा छौँ ।” 

दानाको विकल्पमा  घाँस लगाउन सके किसानलाई राहत मिल्ने नगरप्रमुख न्यौपानेले बताए । नगरपालिकाले यससम्बन्धी कार्यविधि निर्माण गरिसकेको र कार्यक्रम कार्यान्वयनका लागि खासै समस्या नहुने उनको भनाइ छ ।

देवचुली नगरपालिका पशु विकास शाखाको तथ्याङ्कानुसार नगरभित्र व्यावसायिक पशुपालन गर्ने फार्मको सङ्ख्या ५५९ रहेको छ । व्यावसायिक पशुपालनमा आवद्ध परिवारको सङ्ख्या भने दुई हजार ५६० छन् ।