close

मरुभूमिको खेती प्रणाली देखेका वडाध्यक्षले सुरु गरे व्यवसाय

मरुभूमिको खेती प्रणाली देखेका वडाध्यक्षले सुरु गरे व्यवसाय

Trulli
ADVERTISEMENT

काठमाडौं । साउदी अरबको मरुभूमिमा २६ महिना बिताएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का वडाअध्यक्ष क्षेत्रबहादुर तामाङले त्यहाँ कृषिमा प्रयोग गर्न सकिने प्रविधिबारे जानकारी लिए । 

त्यहाँको कृषि फार्ममा काम गर्दागर्दै उनकाे मनमा मरूभूमिमा यस्तो व्यवसाय चल्छ भने नेपालको माटोमा  किन गर्न सकिँदैन भन्ने भाव पलायो ।र, उनले लिए, फरक अठोट र निर्णय अनि सुरु गरे २५ रोपनी जग्गामा कृषि व्यवसाय । 

विदेशमा सिकेको ज्ञान र सीप  आफ्नो कृषि कार्यमा आफूले लगाएकाे उनी बताउँछन् । उनी भन्छन् । ‘स्थानीय उत्पादनको जगेर्ना गर्दै विदेशी बिरूवाको परीक्षण गर्ने उद्देश्यले फार्म स्थापना गरेको छु ।’

कफी नर्सरीबाट सुरु भएको उनको बिलुवा अर्गानिक कृषि फार्म तथा अलैँंची नर्सरीमा अहिले ५० भन्दा बढी जातका बिरुवा हुर्किरहेका छन् । अलैँंचीको बिरुवा, गोलभेडा, आलुलगायत तरकारीको व्यावसायिक उत्पादन गरेका तामाङले जापानी स्याउ, सुन्तला, कागती, अनार, एभोकार्डोलगायतका बिरुवा परीक्षणका लागि लगाएका छन् । 

नर्वेका एक प्राविधिकले अर्गानिक बिरुवा पठाउने गरेको उनी बताउँछन् । 

‘कुन जातको बाली बढी फस्टाउँछ, त्यसैलाई व्यावसायिक रूपमा सुरू गर्ने उद्देश्यले सबै खाले बाली परीक्षणका लागि लगाएको छु,’ तामाङ भन्छन् ।

यसलाई जिल्लामै उत्कृष्ट कृषि प्रयोगशालाको रूपमा पनि विकास गर्ने सोच तामाङको छ । तामाङले चिलिबाट झिकाएको ‘मङ्की पजल’ र विलोभा जातको बिरुवा लगाएका छन् । 

कृषि प्राविधिकका अनुसार यो बिरूवालाई बालीमा औषधिको रूपमा प्रयोग गरिन्छ । गाउँमा हाईब्रिड बाली बढ्दै गएपछि उहाँले परम्परागत बीउको संरक्षण पनि गर्न थाले । ‘स्थानीय उत्पादन जोगाउनु पनि यो फार्मको लक्ष्य हो,’ तामाङले भने । 

विदेश गएका युवालाई मेहनत गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने सन्देश दिन चाहेको तामाङ बताउँछन् । विदेशबाट कमाएर ल्याएको केही रकमबाट सुरू गरेको उहाँको फार्ममा अहिलेसम्म १९ लाख रूपैयाँभन्दा बढी लगानी भइसकेको छ ।

 परीक्षणमा रोपिएका बाहेक अन्य बालीले उत्पादन दिन थालेपछि उनी  झन् उत्साहित भएका छन् । आफूसँग भएको रकमले अपुग भएपछि आफन्तसँग ऋण लिएर लगानी गर्नुभएका तामाङलाई घाटा पर्छ भन्ने शङ्कासम्म छैन ।