close

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

Trulli
ADVERTISEMENT

जाजरकोट। कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले  विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए। नगरभित्रबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला बाहिर बिक्री हुने गरेको उनले बताए।

नगरपालिकाले मौरीपालन पकेट क्षेत्रका रूपमा वडा नं १, २ र ४ लाई लिएको छ । सुन्तला पकेट क्षेत्रका रुपमा वडा नं ३, अलैँचीका लागि वडा नं ३, लसुनका लागि ९, १० र ११ वडालाई पकेट क्षेत्रका रूपमा लिइएको छ । त्यस्तै धानका लागि वडा नं ७ र ८, मकैका लागि वडा नं ५, आलुका लागि ३ र ६ नं वडालाई पकेट क्षेत्रकारूपमा लिइएको छ । कागतीका लागि वडा नं ५, फलफूलका लागि वडा नं १३, तरकारी का लागि २, ४, ५, ७ र ८ नं वडालाई पकेट क्षेत्रका लिइएको छ ।

क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत छ हेक्टर जमिनमा हिउँदे आलु, १० हेक्टर जमिनमा उन्नतजातको गहुँको बीउ उत्पादन, एक सय ९० हेक्टरमा उन्ततजातको तोरीको बीउ उत्पादन गरिएको छ । त्यस्तै छ हेक्टर जमिनमा प्याजको उन्तत बीउ, १० हेक्टर जमिनमा लसुनको बीउ लगाइएको छ । त्यस्तै नलगाड नगरपालिका वडा नं ७ मा छ हेक्टरमा गहुँको मूलबीउ उत्पादन भइरहेको  छ ।

त्यस्तै वडा नं ४ को ४० हेक्टर जमिनमा तोरीको मूलबीउ उत्पादन भइरहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताए। प्याज, रायो र  मुलाको उन्नत बीउसमेत वडा नं ५ को रानीखेतमा उत्पादन भइरहेको छ । स्थानीय सरकार सञ्चालन भएपछि कृषिमा लगानी बढाएसँगै यहाँ उत्पादन दरसमेत बढेको प्रशासकीय अधिकृत गिरीले उल्लेख गरे ।

नलगाडको उत्पादन सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म बिक्री हुने गरेको छ । सिँचाइयोग्य भू–भागमा सिँचाइ सुविधा, कृषिमा यान्त्रिकीकरण र उपयुक्त समयमा मल उपलब्ध गराइएको उनको भनाइ थियो । भेरी करिडोरसँग अधिकांश भू–भाग जोडिएका कारण यहाँ उत्पादन भएको खाद्य सामग्री बाहिर लैजानसमेत सजिलो भएको छ । त्यस्तै नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको सडकसमेत यही पर्दछ ।

पालिकाको सबै वडामा यातायात सेवा पुगेको छ । अब नलगाड आयातमात्र होइन, निर्यात गर्ने पालिकाको रूपमा पुगेको छ । अघिल्लो वर्षमात्र यहाँको प्याज, लसुन जिल्ला बाहिरबिक्री भएको थियो । त्यस्तै सङ्घीय सरकार तथा प्रदेश सरकारको साझेदारीमा समेत कृषि क्षेत्रमा लगानी बढाइएको र सिँचाइको योजना थप गरिएको छ । उक्त नगरपालिकाको कूल ३८ हजार सात सय ४४ हेक्टर जमिनमध्ये तीन हजार चार सय ४० खेतीयोग्य जमिन रहेकामा २७ सय ५६ हेक्टरमा खेती गरिएको छ । तेइसवटा महिला कृषक समूह सक्रिय भएर काममा लागेको नगरपालिकाले जनाएको छ । त्यस्तै दुईवटा पुरुष कृषक समूहले पनि काम गरिरहेका छन् । नगरपालिकामा एक सय ६३ मिश्रित कृषक समूह रहेका प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए। 
 
आर्थिक वर्ष २०७६/७७ मा १३ टन, २०७७/७८ मा १४ टन, २०७८/७९ मा तीन दशमलव २२ टन मह उत्पादन भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आव २०७६/७७ मा ३५ टन, २०७७/७८ मा ३५ टन, २०७८/७९ मा २५ टन सुन्तला उत्पादन भएको थियो । आव २०७६/७७ मा ८० टन, २०७७/७८ मा एक सय टन, २०७८/७९ मा एक सय ५० टन लसुन उत्पादन भएको थियो ।