close

कागतीखेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन हुँदै

कागतीखेतीका लागि पकेट क्षेत्र कार्यक्रम कार्यान्वयन हुँदै

Trulli
ADVERTISEMENT

दाङ । सङ्घीय सरकारले सुरु गरेको कागती पकेट क्षेत्र कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा यो कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ । सङ्घीय सरकारले जिल्लाका दशवटा स्थानीय तहमध्ये उक्त उपमहानगरपालिकालाई कागती पकेट क्षेत्र घोषणा गरेको थियो ।

सो घोषणासँगै कागती खेतीको विस्तारका लागि उपमहानगरपालिकाले खेती विस्तार, प्राविधिक दक्षता, रोगकीरा नियन्त्रणको काम अघि बढाएको छ ।

 पहिलो चरणअन्तर्गत व्यावसायीकरुपमा कागती खेतीका लागि किसानलाई प्राविधिक दक्षताको काम सुरु गरिएको छ । उपमहानगरप्रमुख टीकाराम खड्काले सङ्घीय सरकारबाट पालिकालाई कागती पकेट क्षेत्र घोषण गरेसँगै कार्यान्वयनको चरणमा पुगेकाले यसको विस्तार र बजारीकरणमा विशेष ध्यान दिइने बताए। उनले कागती खेतीलाई व्यावसायिकका साथै एक घर एक कागतीका बिरुवा रोप्ने कार्यलाई अभियानकैरुपमा अघि बढाइने बताए । 


उपमहानगरपालिकाका कृषि शाखा प्रमुख  धनराज गौतमले कागती खेती गरिरहेका किसान र खेती गर्न इच्छुक किसानका लागि गुणस्तरीय बिरुवा उत्पादन र  व्यावसायिक सीपको दक्षताका लागि तालिम गर्नाका साथै  व्यावसायिक कागती खेती गरिरहेको ठाउँमा पुगेर किसानलाई सीपसमेत प्रदान गरिने बताए । उनले उपमहानगरपालिकाको अन्नबाली कम उत्पादन हुने वडा नम्बर १,३,४,१९,१८मा कागती खेती विस्तार गर्न सकिने जानकारी दिए ।


 एक पटक कागतीको बिरुवा रोपे २५ वर्षसम्म उत्पादन गरेर आम्दानी गर्न सकिने भएकाले कागतीमा देखिने रोगकीरा नियन्त्रण र व्यावसायिक खेतीलाई प्रोत्साहन गरिने शाखाप्रमुख गौतमले बताए । आर्थिक विकास समितिका संयोजक माधव वलीले स्थानीय उत्पादन बढाउन र प्रोत्साहन दिन तरकारी तथा फलफूल बजार क्षेत्रमा बिक्री वितरणका लागि परिचयपत्र वितरण गर्न थालिएको उनको भनाइ थियोे । 

किसानले उत्पादन गरेका वस्तु बिक्री वितरणका लागि प्रत्येक दिन बिहान ४ बजेदेखि ८ बजेसम्म समय तोकिएको आर्थिक विकास समितिका संयोजक माधव वलीले जानकारी दिए।