close

किसानलाई अनुदानमा भैँसी वितरण

किसानलाई अनुदानमा भैँसी वितरण

Trulli
ADVERTISEMENT

चितवन ।  रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको बताए । चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ । 

अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ  । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ । पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उनले जानकारी दिए । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको जानकारी दिए।