close

पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण

पशुपालक कृषकलाई अनुदानमा कृषि उपकरण

Trulli
ADVERTISEMENT

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)। गैँडाकोट नगरपालिका–१० कार्यालयले पशुपालक कृषकलाई घाँस काट्ने मेसिन चापाकटर र पशुको गोठमा ओछ्याउने काउम्याट वितरण गरेको छ । 

चालु आर्थिक वर्ष २०७९/८० मा वडा कार्यालयले पशुपालनका लागि छुट्याएको बजेटबाट व्यावसायिक पशुपालक कृषकलाई कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष देवीदत्त कँडेलले बताए। वडामा पशुपालन प्रवर्द्धनका लागि छुट्याइएको रु आठ लाख बजेटबाट कृषकलाई अनुदानमा उपकरण वितरण गरिएको उनको भनाइ छ । 

कृषकको केही लगानी र बाँकी वडाको लगानीमा कृषि उपकरण वितरण गर्दा किसानले अपनत्व ग्रहण गर्ने र सामानको सुरक्षा गर्ने भएका कारण उनीरुको पनि लगानी मिसाइएको वडाध्यक्ष कँडेलले बताए। वडा कार्यालयसँगको सहकार्यमा १८ व्यावसायिक कृषकका लागि चापाकटर मेसिन तथा ४५ कृषकका लागि काउम्याट वितरण गरिएको कृषि तथा पशुपालन उपभोक्ता समितिका अध्यक्ष होमनाथ कँडेलले बताए। 

कृषकलाई वितरण गएिको प्रतिचापाकटरको भ्याटसहित मूल्य रु ३२ हजार रहेकामा कृषकसँग रु १३ हजार लिएर बाँकी वडा कार्यालयले अनुदान दिएको कँडेलको भनाइ छ । त्यस्तै प्रतिकाउम्याटको बजार मूल्य रु पाँच हजार सात सय रहेको छ । 

एक कृषकलाई तीनका दरले काउम्याट वितरण गरिएको थियो । कृषकसँग एउटा काउम्याटको रकम लिएर उनीहरुलाई तीनवटा काउम्याट प्रदान गरिएको उनले बताए। कृषकलाई प्रदान गरिएको काउम्याटको लम्बाइ छ फिट तथा चौडाइ चार फिट रहेको छ । वडाले गत वर्ष पनि यसरी नै कृषकलाई चापाकटर मेसिन र काउम्याट वितरण गरेको थियो । 

गत वर्ष अनुदानमा सामग्री नपाएका कृषकलाई यसवर्ष वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष कँडेलले यस वर्ष पनि कृषि उपकरण नपाउने कृषकका लागि आगामी वर्षको बजेटबाट वितरण गरिने बताए। वडा नं १० पशुपालनका लागि पकेट क्षेत्र हो । यहाँका जनताको मुख्य पेसा नै पशुपालन रहेको छ । 

कृषकलाई दुग्ध उत्पादनमा प्रोत्साहन गरी आर्थिक आयआर्जनसँग जोड्नका लागि वडाले पशुपालक कृषकलाई आवश्यक सामग्री उपलब्ध गराएको वडाध्यक्ष कँडेलले बताए।