close

सुत्केरी गाईभैँसीलाई दशैँ भत्ता

सुत्केरी गाईभैँसीलाई दशैँ भत्ता

Trulli
ADVERTISEMENT

पर्वत- जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गरिएको छ ।

गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ । 

कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

“कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, आचार्यले भने, “जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।” 

विशेष गरेर जन्मिने बित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठले बताए । गत आर्थिक वर्ष २०७९/०८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप दुई हजार पाँच सयका दरले कूल एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।

वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यक पर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले जानकारी दिए । वार्षिक २७ लाख ६३ हजार १५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार ८३६ लिटर दूध निकासी हुने गरेको उनले बताए ।