close

दूधको बजार : गर्मीमा अपुग, हिउँदमा अधिक

दूधको बजार : गर्मीमा अपुग, हिउँदमा अधिक

Trulli
ADVERTISEMENT

दाङ– राप्ती गाउँपालिकामा दूधको बजारीकरणमा समस्या भएको छ ।दूध, मासु र अण्डामा आत्मनिर्भर रहेको पालिकाको दूध बिक्रीमा समस्या भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका पशु विकास अधिकृत जीवराज पौडेलका अनुसार जाडोयामको तुलनामा गर्मीमा पालिकाभित्र दूधको खपत बढी हुने भएकाले निर्यातमा समस्या हुने गरेको छ । गर्मीमा पालिकाभित्र दूध अपुग हुने भएकाले आयात र हिउँदमा बढी हुने भएकाले निर्यात गर्दै आएकाे उनले पालिकाखबरलाई सुनाए । 'हिउँदमा चिसाे हुने भएकाले दूध पिइन्छ मात्रै,' उनले भने, 'तर गर्मीमा दूधजन्य परिकार जस्तै आइसक्रिम, कुल्फी, लस्सी आदी बनाइन्छ ।' गर्मीमा दूधजन्य सामग्रीकाे माग धेरै हुने भएकाले पालिकाभित्र अपुग हुने उनकाे अनुभव छ ।

कातिकदेखि चैतसम्म पालिकाबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध निर्यात गरिने पशु विकास अधिकृत पौडेल पालिकाखबरलाई बताउँछन् । उनी भन्छन्, ‘ पालिकाबाट दूध विकास संस्थाको डिपो २५ किलोमिटर टाढा छ । त्यहाँ कृषक आफैँले दूध लिएर बेच्न जान्छन् । लोकल डेरीले पालिकाभित्रका दूध संकलन गरेर प्युठानमा लगेर बेच्छन् ।’ 

लमही नगरपालिकामा रहेको दूधको कारोबार गर्ने सहकारीमार्फत कृषकहरूले हाल दैनिक ५०० देखि ६०० लिटरसम्म दूध लगेर बिक्री गर्छन् । पालिकाभित्रका स्थानीय दूध डेरीले ४०० देखि ५०० लिटरसम्म दूध बिक्रीको लागि पहाडी जिल्लामा लाने गरेको उनी बताउँछन् । तर वैशाख लागेसँगै दूध पालिकामा खपत बढ्ने र निर्यात घट्ने हुँदा ठूला दूध व्यापारीहरू मर्कामा पर्ने गरेको उनले जानकारी दिए । 

मासु उत्पादनमा आत्मनिर्भर राप्ती

पशु विकास अधिकृत पौडेलको अनुसार मासुको लागि गाउँपालिकाभित्र बंगुर, खसी, बोका, राँगा, भैँसी, बोइलर कुखुरा पालन गरिन्छ । पालिकाभित्रका बोइलर कुखुराले स्थानीय मागलाई पूरा गरेर पहाडी इलाकामा बिक्री गरिन्छ । विशेषगरि प्युठान र रोल्पा जिल्लामा गाउँपालिकाको बोइलर कुखुरा निर्यात गरिने उनी सुनाउँछन् । 

मासु उत्पादनमा पनि समय-समयमा रोग लागेर समस्या हुने गरेको उनले बताए । गत वर्ष बंगुरमा स्वाइन फिबर देखिएर बंगुर मरेपछि हाल पालिकामा बंगुरको उत्पादनमा कमी आएका छ । स्वाइन फिबर भएको समयमा फैलन नदिने वातावरणको सिर्जना गर्ने, रोग प्रतिरोधी क्षमता बढाउन औषधि वितरण गर्ने, जुकाको औषधि वितरण गरेको उनले बताए । यस्तै खोरको सरसफाइको लागि आवश्यक सामाग्री उपलब्ध गराएर बंगुरमा लागेको महामारी गाउँपालिकाले नियन्त्रण गरेको थियो । 

गाउँपालिकामा पशुसम्बन्धी पाँच जना प्राविधिकहरूले गाउँपालिकाका पशुपालक कृषकहरूलाई सेवा प्रदान गरिरहेका छन् । आकस्मिक समयमा नजिकका भेटनरी डाक्टरको सहयोगमा गाउँपालिकाले कृषकहरूलाई सेवा दिइरहेको छ । पछिल्लो समय बंगुर उत्पादन घट्दा खसीबोका उत्पादन भने बढेको उनले सुनाए ।

दूध र मासु उत्पादन बढाउन गाउँपालिकाको प्रोत्साहन

पशु विकास अधिकृत पौडेलको अनुसार व्यावसायिक रुपमा पालिकामा फर्म दर्ता गरेर दूध उत्पादन गर्ने कृषक ३५० जना भन्दा बढी छन् । मासु उत्पादनको लागि व्यावसायिक पशुपालन गर्ने कृषकहरू ७०० भन्दा धेरै छन् । उनी भन्छन्, ‘बाख्रा, गाईभैंसी, कुखुरापालक कृषक गरेर मासु उत्पादन गर्ने कृषक ७०० भन्दा धेरै छन् ।’ 

पालिकामा दूध र मासु उत्पादन बढाउन गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमसमेत सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले गोठ सुधारको कार्यक्रम सञ्चालन गरेको थियो । बजारको सुधारको लागि दूध डेरी सुधार, मासु पसल सुधारको कार्यक्रम गत आर्थिक वर्षमा गरिएको उनले सुनाए । 

दूध उत्पादक कृषकलाई बढीभन्दा बढी दूध उत्पादन गर्न गाउँपालिकाले दूध बिक्रीमा समेत अनुदान उपलब्ध गराएको छ । पशु विकास अधिकृत पौडेल भन्छन्, ‘गत वर्ष कृषकले दूध बेचेको आधारमा प्रतिलिटर दूधमा २ रुपैयाँ अनुदान उपलब्ध गराएका थियौं । यस आर्थिक वर्षदेखि ४ रुपैयाँ उपलब्ध गराएका छौँ,’ निजी दूध डेरीमा कृषकले बिक्री गरेर दूधको रेकर्ड हेरेर डेरीमार्फत गाउँपालिकाले अनुदान रकम उपलब्ध गराउने उनले बताए । 

दूध बिक्री गर्दा मापदण्ड पुर्‍याएर दूधको फ्याट जाँच गरेर बिक्री गरेको उनले सुनाए । उनको अनुसार गाउँपालिकाले दूध डेरीको नियमित अनुगमन समेत गर्छ ।