close

जैमिनी नगरपालिकामा नेपालकै पहिलो ‘मङ्की पार्क’ बन्दै

जैमिनी नगरपालिकामा नेपालकै पहिलो ‘मङ्की पार्क’ बन्दै

Trulli
ADVERTISEMENT

बागलुङ– बाली खाएर हैरान बनाउने बाँदर अब पार्कमा हेर्न पाइन्छ । त्यो पनि कुनै बन्द चिडियाखानमा नभएर खुला जंगलको पार्कमा बाँदरहरू राख्दा किसानले हैरानी खेप्नुपर्ने छैन । 

हो, जैमिनी नगरपालिकाले नेपालकै पहिलो ‘मङ्की पार्क’ निर्माणको लागि काम अगाडि बढाएको छ । पालिकाका स्थानीयहरू बाँदर आतंकले हैरान भएपछि  नगरपालिकाले ‘मङ्की पार्क’को योजना अघि सारेको हो । पार्क निर्माणको काम सफल भएमा आतंक न्यूनीकरण हुने नगरपालिकाको विश्वास छ । 

नगरप्रमुख नरबहादुर पुनका अनुसार नगरपालिकाको केही स्थानबाहेक १० वटै वडामा बाँदरको आतंक छ । नगरप्रमुख पुनले पालिकाखबरसँग भने, ‘वडा नं ३ मा बाँदरको आतंक कम छ । वडा नं ९ मा पनि अरु वडाको तुलनामा दुःख कम दिन्छ । बाँकी ठाउँमा खेती गरेर जीविकोपार्जन गर्न सक्ने अवस्था छैन ।’

सो समस्याबाट छुटकारा पाउन बाँदरहरूको लागि नगरपालिकाले ‘मङ्की पार्क’को अवधारणा ल्याएको हो । नगरप्रमुख पुनले भने, ‘मङ्की पार्क त एउटा सानो पाटो मात्र हो । खासमा हाम्रो योजना भनेको प्राकृतिक चिडियाखाना निर्माण गर्ने हो ।’

हाल प्राकृतिक चिडियाखाना र मङ्की पार्क निर्माणको सोच लिएर छलफल सुरु गरिएको उनले बताए । नगरप्रमुख पुनले भने, ‘ मङ्की पार्क बनाउन सबैभन्दा पहिला समुदायले मान्नु पर्‍यो । वन पनि यसको लागि तयार भयो भने मात्र हाम्रो योजना अघि बढ्न सक्छ ।’ ‘मङ्की पार्क’ निर्माणको लागि सबैभन्दा पहिला वन कार्यालय र समुदायसँग सहमति आवश्यक रहेको उनले बताए । 

बाँदरको नियन्त्रणका लागि नगरपालिकाले गर्न लागेको यो पहिलो प्रयास हो । ‘मङ्की पार्क’ नेपालको लागि नयाँ विषय रहेको उनले सुनाए । उनले भने, ‘जापानका केही स्थानमा जंगलभित्र पार्क बनाएर बाँदरलाई संरक्षण र नियन्त्रण गरिएको छ । त्यस्तै गरि बाँदरलाई नियन्त्रण गर्ने प्रयास हो ।’

प्राकृतिक चिडियाखाना र ‘मङ्की पार्क’ निर्माण दिर्घकालीन विकास योजना भएको उनले बताए । यसको लागि आर्थिक र कानुनी समस्याहरु पनि आउन सक्ने उनी बताउँछन् । जैमिनी नगरपालिका एक्लैको आर्थिक स्रोतबाट भने सो काम गर्न सम्भव नरहेको नगरप्रमुख पुनले पालिकाखबरसँग बताए । 

उनले भने, ‘प्राकृतिक पार्क बनाउन कानुनमा कस्तो व्यवस्था छ भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौं । प्रदेश सरकार र संघ सरकारको आर्थिक सहयोग पनि आवश्यक पर्छ ।’ संघ र प्रदेश सरकारको सहयोगमा पनि प्राकृतिक चिडियाखानाको भविष्य निर्धारण हुने उनले बताए । 

नगरपालिकाको वडा नं ८ मा रहेको २८१ हेक्टर क्षेत्रफल वनमा सो ‘मङ्की पार्क’बनाउने योजना पालिकाको छ । चालु आर्थिक वर्ष २०८०/८१ बाट मङ्की पार्क निर्माणको  प्रारम्भिक अध्ययनका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।