close

गाउँपालिकाले खारेज गर्‍यो गोठाला भत्ता

गाउँपालिकाले खारेज गर्‍यो गोठाला भत्ता

Trulli
ADVERTISEMENT

कालिकोट– पचालझरना गाउँपालिकाले गत आर्थिक वर्षदेखि भेडापालक कृषकलाई गोठाला भत्ता उपलब्ध गराउन सकेको छैन । गाउँपालिकाले भत्ता उपलब्ध गराउन छाडेपछि कृषकहरूले खाइपाइ आएको भत्ता रोकिएको छ । यससँगै उनीहरू निराश बनेका छन् । 

पालिकामा बजेटको आकार सानो भएकाले गत आर्थिक वर्ष २०७९/८० देखि गोठाला भत्ता उपलब्ध गराउन नसकेको पशु शाखा प्रमुख वीरेन्द्र बहादुर बमले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/७७  देखि किसानलाई गाउँपालिकाले  गोठालालाई भत्ता उपलब्ध गराएको थियो । 

उनले भने, ‘गाउँपालिकाले ५० भन्दा धेरै भेडा पाल्ने कृषकलाई मासिक १ हजार र सयभन्दा माथि भेडा पाल्ने कृषकलाई मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराएको थियो । अन्तिम पटक हामीले गोठाला भत्ता वितरण गर्दा ८१ जना कृषकलाई वितरण गरेका थियौँ ।’

पहिले पशु शाखाका लागि करिब ३० लाख बजेट विनियोज भए पनि हाल शाखाको बजेट घटेको उनले बताए । चालु आर्थिक वर्ष २०८०/८१ मा पशु शाखाको लागि १५ लाख बजेट विनियोजन भएको उनले बताए । ‘गोठाला भत्ता वितरण गर्न मात्र झण्डै १३ लाख रुपैयाँ लाग्छ ।  आगामी कार्यपालिका बैठकसँग गोठाला भत्ताको लागि प्रस्ताव गछौँ । कार्यपालिकाले निर्णय गर्‍यो भने आगामी आर्थिक वर्षबाट फेरि गोठाला भत्तालाई निरन्तरता दिन्छौँ ।’ उनले पालिकाखबरसँग भने । 

मासुमा आत्मनिर्भर बन्न र भेडापालनतर्फ कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिको भत्ता वितरण सुरु गरेको थियो । गाउँपालिकाले व्यवसायिक भेडापालक कृषकलाई भत्ता उपलब्ध गराउन छाडेपछि कृषकको उत्साह घटेको उनले बताए । भेडा पालक कृषकलाई पाल, कैँची, पालिस, रेनकोट आदि सामाग्री गाउँपालिकाले वितरण गर्ने उनले बताए । अध्यक्षसँग कृषक कार्यक्रममार्फत २ लाख विनियोजन गरेर वितरण गरिने उनको भनाइ छ ।