close

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

स्याङ्जा - गल्याङ नगरपालिकाले प्रतिलिटर दूधमा १५ रुपैयाँ अनुदान दिँदै आएको छ ।  स्थानीय कृषकलाई पशु पालनमा आकर्षण गर्न तथा सहायताको लागि नगरपालिकाले सो अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि सो कार्यक्रम सञ्चालनमा ल्याएको पालिकाको पशु  सेवा प्राविधिक महादेव बनले बताए । सोही कार्यक्रमलाई हाल पनि निरन्तता दिँदै आएको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकामा हाल ८०० जना पशुपालक कृषक रहेको उनको भनाइ छ । कृषकले उत्पादन गरेको दूधको आधारमा अनुदान दिने गरेको उनले जानकारी दिए । कार्यक्रम सञ्चालनमा ल्याएसँगै नगरपालिमा पशुपालक कृषककाे संख्यामा तुलनात्मक रुपमा बृद्धि भएकाे उनले सुनाए ।

उनका अनुसार कृषकले उत्पादन गरेको दूध संकलन केन्द्रमा लगेर बिक्री गरिन्छ । संकलक केन्द्रले सो दूध विभिन्न क्षेत्रमा लगेर बिक्री गरिने उनले जानकारी दिए  । नगरपालिकाभित्र २५ वटा संकलन केन्द्रले दूध संकलन गर्दै आएको छ । 'हामीलाई संकलन केन्द्रले तीन तीन महिनाको प्रतिवेदन दिने गर्दछ । सोहीको आधारमा दूधको अनुुदान वितरण गछौँ,' उनले भने । 

उनका अनुसार नगरपालिकामा मासिक तीन हजार ५०० लिटरभन्दा बढी दूध उत्पादन हुने गर्दछ । उत्पादित दूधलाई पोखरा तथा बुटवलमा बिक्री हुने उनको भनाइ छ । 

नगरपालिकाले पशुमा आकर्षण बढाउनका लागि अन्य विभिन्न कार्यक्रम ल्याएको उनले सुनाए । उनका अनुसार नगरपालिकाले साप्ताहिक रुपमा कृषि परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमअन्तर्गत रही नगरपालिकाले टोल टोलमा गएर कृषकलाई आवश्यकता अनुसारको परापर्श दिने उनले सुनाए । 

नगरपालिकालाई दूध, मासु तथा अण्डामा आत्मनिर्भर बनाउनका लागि ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनका अनुसार नगरपालिकाले पशु आहारतर्फ घाँसको बीउ तथा विरुवा उत्पादन गर्दै आएको  छ ।  

पशुजन्य उत्पादनलाई प्रोत्साहन हिउँदै वर्षे भुईघाँस र डालेघाँसका विउ तथा बिरुवा वितरण गर्दै आएको उनले सुनाए । पशु पालक कृषकको सुरक्षाको लागि पशु बीमामा अनुदान वितरण गर्दै आएको उनको भनाइ छ । नगरपालिकाले उन्नत जातको नश्ल सुधार कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।