close

लम्पी स्किन रोगबाट प्रभावित पशुधनीलाई राहत

लम्पी स्किन रोगबाट प्रभावित पशुधनीलाई राहत

Trulli
ADVERTISEMENT

लमजुङ– दोर्दी गाउँपालिकाले लम्पी स्किन रोगबाट मृत्यु भएका पशुको पशुधनीलाई राहत उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले निणर्य गरेर लम्पी स्किन रोगबाट क्षती व्यहोरेको पशुधनीलाई राहत उपलब्ध गराउने भएको हो । 

गत बुधबार गाउँपालिकाले एक सूचना जारी गर्दै ३५ दिनभित्र आवेदन माग गरेको छ । आर्थिक वर्ष २०७९/८० देखि हालसम्मको अवधिमा मरेका पशु धनीलाई राहत उपलब्ध गराउन लागेको पशुपन्छी शाखा इकाईका अधिकृत शंकर पन्थीले बताए । 

गाउँपालिकाले लम्पी स्किनबाट मृत्यु भएका पशुका पशुधनीलाई राहत वितरण गर्न नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई जानकारी दिए । 

गत वर्ष गाउँपालिकाका पशुमा लम्पी स्किन रोग महामारीको रुपमा फैलिएको थियो । गत वर्षदेखि हालसम्म लम्पि स्किन रोगबाट १३ सय पशु संक्रमित भएको उनले जानकारी दिए । सो मध्ये करिब सयवटा पशु रोगबाट मरेको अनुमान उनको छ । 

गाउँपालिकाले राहत दिन आवेदन माग गरेको र आवेदन दिने पशुधनीलाई कार्यपालिकाको बैठकबाट राहत रकम निर्धारण गरेर उपलब्ध गराउने उनले बताए । 

लम्पीस्किन रोगको महामारी फैलिँदा गाउँपालिकाले स्थानीयलाई निशुल्क उपचार समेत उपलब्ध गराएको थियो । उनले भने, ‘ हामीले निशुल्क उपचार गरेका थियौँ । एन्टिबायोटिक, मलम औषधी पनि उपलब्ध गराएको थियौँ ।’ 

राहत पाउन सम्बन्धित पशुधनीको निवेदन, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, कम्तिमा ५ जनाको स्थलगत सर्जमिन मुचुल्का, मृत्यु भएको जनावरको फोटो वा मृत्यु भएको जनावरको फोटो नभएमा सम्बन्धित वडा कार्यालयबाट कारण खुलाएको प्रमाणित पत्र, वडा कार्यालयको सिफारिस, बैंक खाता विवरण वा चेकको प्रतिलिपि समावेश गर्नुपर्ने छ । 

गाउँपालिकालाई आवेदन पेश गर्न आवश्यक कागजात वडा कार्यालयमा नै बुझाउन सकिने प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।