close

जलजलामा 'गाईभैंसी पकेट विकास' कार्यक्रम निरन्तर

जलजलामा 'गाईभैंसी पकेट विकास' कार्यक्रम निरन्तर

Trulli
ADVERTISEMENT

पर्वत– जलजला गाउँपालिकाले गाईभैंसी पकेट विकास कार्यक्रमलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री कृषि रोजगारी कार्यक्रममार्फत चालु आर्थिक वर्षको कार्यक्रम  अनुरुप गाउँपालिकाले पकेट कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । 

पालिकाको वडा नं ३, ४, ५, ६ र ७ मा कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाको पशु स्वास्थ्य प्राविधिक दिपक श्रेष्ठले बताए । गाउँपालिकामा पशुपालन व्यवसायिक रुपमा गर्दै आएका कृषकलाई कार्यक्रममार्फत अनुदान उपलब्ध गराउन लागेको उनले बताए । पकेट विकास कार्यक्रममा सहभागि हुन चाहने व्यवसायिक पशुपालक कृषकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

‘गत वर्ष पनि कार्यक्रम परेको थियो । यो वर्षमा पनि निरन्तरताका लागि परेको छ,’ उनले भने । कार्यक्रमका लागि चालु आवमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । 

सो कार्यक्रमबाट गत आर्थिक वर्षमा अनुदान नपाएका व्यवसायिक पशुपालक कृषकलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए । गत वर्ष गाईभैंसी पकेट विकास कार्यक्रमका लागि २५ लाख बजेट विनियोजन भएर ३३ जना पशुपालन पशुपालक कृषक लाभान्वित भएका थिए । 

गाउँपालिकामा गाईभैंसी पकेट विकास कार्यक्रम सञ्चालन भइरहेपनि दुध बिक्रीका लागि सहकारी तथा दुध संकलन केन्द्र भने नरहेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले बताए । उनले पालिकाखबरसँग भने, ‘पकेट विकास कार्यक्रममा संलग्न हुनुभएका कृषकहरुले ५० लिटर दूध संकलन गरेर बजारमा लगेर बेच्नुहुन्छ । अरु किसानहरुले गाउँ घरमा नै खपत गर्नुहुन्छ ।’

उनले थपे, ‘कृषि समुह बनाएर दुध संकलन गर्ने वा दुध संकलन केन्द्रसम्म दुध पु¥याउनका लागि उपयुक्त उपायको खोजी गरिरहेका छौँ ।’