close

अख्तियारलाई लेखा समितिको पत्र

अख्तियारलाई लेखा समितिको पत्र

Trulli
ADVERTISEMENT

काठमाडौं - संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी जहाज प्रकरणको छानबिनमा भएको प्रगतिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ । समितिले अख्तियारले छानबिन गरिरहेका दुई ठूला खरिद प्रकरणमा चासो देखाएको हो ।


समितिको बिहीबारको बैठकमा सांसदहरूले यी दुई प्रकरणमाथिको अनुसन्धानमा तदारुकता नदेखाएको बताएपछि यसबारे प्रगति विवरण पेस गर्न अख्तियारलाई पत्र लेख्ने निर्णय भएको लेखा समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।  


बैठकमा कांग्रेस सांसद मीनेन्द्र रिजालले लेखा समितिले पठाएका अनियमितताका घटना छानबिन गर्न अख्तियार चुकेको बताए । उनले यी दुई ठूला प्रकरणबारे अख्तियारलाई पत्र लेख्न जरुरी रहेको आवश्यकता औंल्याए । 


त्यस्तै, नेकपाका सांसद विरोध खतिवडाले लामो समयदेखि छानबिनमा रहेका यी प्रकरणको परिणाम बाहिर नल्याइनुको कारण अख्तियारसँग माग्नुपर्ने बताए । 


सांसद राजेन्द्र केसीले वाइडबडी अनियमितता र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेखा समितिले अख्तियारलाई छानबिन गर्न भने पनि अख्तियार लामो समय मौन बस्नुको कारण माग गर्न आग्रह गरे ।   


सुरुमा अख्तियारले केही महिना लाग्ने भनेको तर अहिले मौन बसेकाले समितिका तर्फबाट यसबारे चासो देखाउन जरुरी रहेको केसीको भनाइ छ ।  


नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरू, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि अनियमितताको आरोप लागेको छ ।


वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो ।


तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै विवरण माग गरिएको लेखा समिति सभापति भरत शाहले जानकारी दिए ।