close

कोरोना नियन्त्रणमा गोकर्णेश्वरको १ करोड ७५ लाख खर्च

कोरोना नियन्त्रणमा गोकर्णेश्वरको १ करोड ७५ लाख खर्च

Trulli
ADVERTISEMENT

काठमाडौं - विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) नियन्त्रण तथा रोकथामका लागि गोकर्णेश्वर नगरपालिकाले एक करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले कोरोना रोकथामका लागि भन्दै पाँच करोड रुपैयाँ बजेट छुट्याएको थियो  । 

 

स्वास्थ्य सामग्री, राहत वितरण, खाद्यान्नलगायतमा सो खर्च भएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र रहेका संक्रमितलाई सुरक्षित राख्नका लागि ५५ बेड क्षमताको आइसोलेसन तयार पारेको छ ।

 

नेपाल मेडिकल कलेजमा शंखरापुर, खाङ्ग्रे इन्टरनेसनल, अर्थाेपेडिकलगायतका हस्पिटलसँग समन्वय गरी संक्रमितको उपचार गरिरहेको नगरपालिका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।

 

उनका अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि सेना, प्रहरीसमेत रहेको ११ जनाको टोली बनाइएको छ । ११ जना स्वास्थ्यकर्मीलाई कोभिडकै काममा खटाउन परिचालन गरिएको छ  । नगरपालिकासँग दुईवटा एम्बुलेन्स छन्, एउटा कोभिडका बिरामीका लागि छुट्याएको नगरपालिकाले जनाएको छ ।

 

नगरप्रमुख चालिसेले भने, ‘हामीले होम आइसोलेसनमा बस्छु भन्नेलाई पनि हरेक दिन फोन गर्ने कर्मचारी छुट्यायौँ । उनले दैनिक हेल्थ रिपोर्ट बनाए । ज्वरो घटे/बढेको र लक्षण भए/नभएको टिपे ।’ समस्या भए अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा रहेको पनि उनले बताए ।

 

यति धेरै अस्पतालसहितको व्यवस्था अरू नगरपालिकाले गर्न नसकेका उनको दाबी छ । चालिसे भन्छन्, ‘कुनै पनि मान्छेले अस्पताल जान्छु भन्यो भने तुरुन्त पुर्‍याउन हामीलाई कुनै समस्या छैन ।’

 

पीसीआर मेसिन किन्न भनेर डेढ करोड छुट्याएको थियो नगरपालिकाले तर न त केन्द्र सरकारले किन्न दिएको छ, न प्रदेश सरकारले नै । सरकारले तोकेका दुई-चार ठाउँमै जाँच्न जानू भनिरहेको छ । ‘परीक्षण बढाउन यसले अवरोध गरिरहेको छ । राज्यले यसो गर भनेर निर्देशन दिन सकेको छैन’, उनको आरोप छ । 


 
कोभिड महामारी भएकै सात महिना भयो । प्रदेश र केन्द्र सरकारले बेलैमा सही निर्णय नगरेकाले समस्या भएको उनको भनाइ छ । ‘यति बेला आएर क्वारेन्टाइन र आइसोलेसनको कुरा गर्दै छ ।

 

काठमाडौं महानगरले क्वारेन्टाइनसम्म बनाउन सकेको छैन’, उनले भने । उनका अनुसार यस नगरपालिकामा २५ हजार जनाको पीसीआर गरिएको छ । यहाँ ८५० जना संक्रमित रहेका छन् भने सात जनाको मृत्यु भएको छ ।