close

चापाकोटको नीति तथा कार्यक्रम: स्वास्थ्य, कृषि र पर्यटकीय पूर्वाधारमा जोड

चापाकोटको नीति तथा कार्यक्रम: स्वास्थ्य, कृषि र पर्यटकीय पूर्वाधारमा जोड

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकाले पर्यटकीय पूर्वाधार, हवाई मैदान, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख शिवकुमार गिरीले समृद्ध चापाकोट निर्माणको लक्ष्यसहित स्थानीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।


चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिसहितको विकासको खाका निर्धारण गरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको नगरप्रमुख गिरीले जानकारी दिए ।

 

दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भइरहँदा ल्याइएको नीति तथा कार्यक्रममा चापाकोटलाई छिटोभन्दा छिटो कोरोना खोपको व्यवस्था गर्नेदेखि सहज उपचारको व्यवस्था मिलाइने कार्यक्रममा समावेश गरिएको छ ।

 

सरकारी स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउँदै प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना, तत्कालै वडा नम्बर ४ को मल्याङकोटमा र १ को कुवाकोटमा बर्थिङ सेन्टर गरी चापाकोट र दार्सिङ अस्पतालमा कम्तीमा १/१ वटा एम्बुलेन्स व्यवस्था गरिने भएको छ ।

 

हरेक वर्ष घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा नगरपालिकाले नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । भौतिक पूर्वाधारको विकास गरी वडा नम्बर २ र ८ मा पर्ने मचेडाँडामा आन्तरिक हवाई मैदान निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन निर्माण अगाडि बढाइने कार्यक्रम समावेश गरिएको छ ।

 

पशु आहार कार्यक्रमअन्तर्गत सबै वडाका कृषकलाई व्यावसायिक गाईभैँसीपालनतर्फ आकर्षित गर्न भैँसी सुत्केरी अनुदान प्रतिसुत्केरी भैँसी १ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

 

नगरपालिकाको वडा नम्बर १, २ र ३ लाई कागती खेती, ४ लाई मेन्थावाली र सिताके च्याउ, ५ लाई सुन्तला खेती, ६ र ७ लाई केरा खेती र वडा नम्बर ८, ९ र १० लाई आलु बालीको व्यावसायिक पकेट क्षेत्रको रूपमा विकास गरिने भएको छ ।

 

वडा नम्बर ९ को सुन्तलीटारमा आलु भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिने र नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाइने कार्यक्रम समावेश गरिएको छ ।

 

फोहोरमैला व्यवस्थापनका लागि आगामी आर्थिक वर्ष संघीय सरकारबाट विनियोजन भएको विशेष अनुदान २ करोड १६ लाख रुपैयाँ खर्च गरी नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरिने भएको छ । 

 

पदमार्ग निर्माण, धार्मिक स्थल, मठमन्दिर संरक्षण, बाटो तथा पानीको व्यवस्था गरिनेसमेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

 

चापाकोटको पर्यटन प्रवद्र्घनका लागि होमस्टे स्थापना र सञ्चालन, रामडाँडालाई विशेष पर्यटन क्षेत्रको रूपमा पर्यटन गुरुयोजना बनाई विकास गर्ने, राधाकृष्ण मन्दिर, शिव मन्दिर, मणि मुकुन्देश्वरलगायत धार्मिक स्थललाई समेटेर उत्तरगंगा धामको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।


कालीगण्डकी नदीमा जल यातायात र जल पर्यटनको प्रवर्द्धनका साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रचार-प्रसार गरिने भएको छ । चापाकोट नगरस्तरीय खानेपानी कार्यालय स्थापना गरी छरिएर रहेका समितिलाई एकीकृत गरी चापाकोट विस्तृत खानेपानी योजनाको कार्यलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगर केन्द्र र वडा केन्द्र जोड्ने सडक स्तरोन्नतिलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । 

 

नगरपालिकाको सीमित स्रोतको उच्चतम परिचालन गर्ने र आवश्यकताका आधारमा तत्काल गर्नुपर्ने योजनालाई प्रदेश र संघीय सरकारसँग ठूला योजना माग गरिने भएको छ ।