close

तिलोत्तमाको बजेट २ अर्ब नजिक, नगरपालिकालाई समृद्ध बनाउने उद्घोष

तिलोत्तमाको बजेट २ अर्ब नजिक, नगरपालिकालाई समृद्ध बनाउने उद्घोष

Trulli
ADVERTISEMENT

रूपन्देही– ‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर : सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ नारालाई निरन्तरता दिँदै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ९८ करोड ७६ लाख २८ हजार ५ सय ७४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरसभामा आयोजित कार्यक्रममा बजेट सार्वजनिक गरेकी हुन् ।

 

कार्यक्रममा उपप्रमुख चौधरीले दोस्रो लहरको कोरोना महामारीका कारण नगरबासीको विकासको चाहनालाई पूर्ण रूपमा समेट्न नसकिएको बताइन् ।

 

बजेटमा चालूतर्फ ९० करोड २० लाख ४३ हजार (५१.१० प्रतिशत) र पुँजीगततर्फ ८६ करोड ५५ लाख ८५ हजार ५ सय ७४ रुपैयाँ (४८.९० प्रतिशत) खर्च प्रस्ताव गरिएको छ । त्यसमा सामाजिक सुरक्षातर्फको २२ करोड रुपैयाँ समावेश नगरिएको नगरपालिकाको बजेट पुस्तिकामा उल्लेख छ ।

 

यो वर्ष तिलोत्तमाले आन्तरिक राजस्वतर्फ ४४ करोड १ लाख ९ हजार २ सय ८७ रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ५० करोड ७५ लाख १९ हजार २ सय ८७ रुपैयाँ, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य लिइएको छ ।

 

गत आर्थिक वर्ष तिलोत्तमाले चालूतर्फ ७५ करोड १ लाख २१ हजार ५ सय ६० र पुँजीगततर्फ १ अर्ब १२ करोड २५ लाख ५१ हजार गरी १ अर्ब ८९ करोड ६ लाख ७२ हजार ५ सय ६४ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

 

उपप्रमुख चौधरीले नगरपालिकाले अगाडि सारेको ‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर सहर : सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ सहितको दूरदृष्टि र नगरबासीलाई सर्वसुलभ, भरपर्दो, गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराई नगरबासीको जीवन स्तरमा क्रमिक सुधार ल्याउन तय गरिएको गन्तव्यलाई पूरा गर्न कटिबद्ध रहेको सुनाइन् ।

 

बजेट तर्जुमा गर्दा उपलब्ध स्रोत–साधनको अधिकतम उपभोग गर्नुपर्ने मान्यतालाई ध्यान दिइएको उनको भनाइ छ । ‘जनमैत्री, जनमुखी नगरपालिकाको पहिचान स्थापित हुने गरी बजेट विनियोजन गरिएको छु’, उनले भनिन्, ‘बजेटमा नगर सरकारको क्षेत्राधिकारभित्रका कर तथा गैरकर, राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौँ ।’

 

निर्धारित समयमै विकास आयोजना कार्यान्वयन गर्न सञ्चालित महत्त्वपूर्ण योजनालाई आगामी वर्ष सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

 

तिलोत्तमाले शिक्षा क्षेत्रको विकासका लागि ३५ करोड२ ४ लाख ५२ हजार, बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई सरकारले उपलब्ध गराएको सुविधाको अतिरिक्त प्रोत्साहनस्वरूप १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने गरी समग्र स्वास्थ्य क्षेत्रका लागि १९ करोड ४९ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ ।

 

नगरपालिकाको क्षेत्रभित्रका जीर्ण सडक मर्मत–सम्भार तथा स्तरोन्नतिका लागि प्रत्येक वडामा १ करोड रुपैयाँका दरले १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
पूर्वाधार क्षेत्रमा ६४ करोड ८० लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

त्यसैगरी फरक क्षमता भएका व्यक्ति, महिला, बालबालिका, ज्येष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, लैंगिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण र राज्यले अवलम्बन गरेको समावेशी विकासलाई प्रवद्र्धन गर्न ३ करोड ८ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

नगरपालिकाले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन तथा खेलकुद मैदान पूर्वाधारलगायतका लागि १ करोड १५ लाख खेलकुद ५० हजार रुपैयाँ विनियोजन गरेको छ । 

 

वन तथा भू–संरक्षण, जलाधार संरक्षण, विपद् व्यवस्थापन, विपद् प्रतिकार्य योजना तयारी, विपद्पीडितको आयआर्जन तथा पुनर्उत्थानलगायत कार्यक्रमका लागि ३ करोड ४० लाख ९७ हजार रुपैयाँ छुट्याइएको छ ।