close

बुटवल उपमहानगरको नीति कार्यक्रम : प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगारी

बुटवल उपमहानगरको नीति कार्यक्रम : प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगारी

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगरले स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको नवौँ अधिवेशनमा प्रमुख शिवराज सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

 

उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको बैठकको दोस्रो सत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख सुवेदीले कोरोना महामारीको दोस्रो र सम्भावित तेस्रो लहरसँग जुध्दै त्यसको रोकथाम, व्यवस्थापन र उपचारमा केन्द्रित हुने गरी कार्यक्रम लक्षित गर्ने नीति लिइएको बताए ।

 

महामारी र अन्य विपद्बबाट नागरिकको जीवनरक्षालाई नीति कार्यक्रमको केन्द्रबिन्दुमा राखेको जानकारी दिँदै संघीय र प्रदेश सरकारको समन्वयमा सबै नगरबासीलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चितताका लागि पहल गरिने बताए ।

 

नीति तथा कार्यक्रम बालबालिकाको स्वास्थ्य र शिक्षा, युवाका लागि रोजगारी सिर्जना र उद्यमशीलता; सीप विकास, ज्येष्ठ नागरिकको सम्मानमा केन्द्रित रहेको नगरप्रमुख सुवेदीकोे भनाइ छ ।

 

कोभिड महामारीको पहिलो र दोस्रो लहरले सामाजिक र आर्थिक क्षेत्रमा प्रभावित पारिरहेको अवस्थामा ल्याइएको नीति तथा कार्यक्रम रोजगारी सिर्जना गरी आर्थिक विकासलाई निरन्तरता दिने, अधुरा वार्षिक र बहुवर्षीय योजना सम्पन्न गर्ने, वातावरणमैत्री पूर्वाधार विकास, सामाजिक एवं आर्थिक विकासबाट नगरबासीको जीवनस्तर उकास्ने, स्थानीय सरकारलाई प्राप्त अधिकारको यथेष्ट प्रयोग गर्ने र स्थानीय सेवा प्रवाहलाई जनमैत्री बनाउनेजस्ता विषय समेटिएको छ ।

 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले उपमहानगरको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिको स्पष्ट खाकाअनुसार नगर विकास योजना तर्जुमा गरी कार्यान्वयनलाई निदृष्ट गरेको नगरप्रमुखले स्पष्ट पारे ।

 

जनस्वास्थ्यमा नौला र आकर्षक नीति

 

कोरोना महामारीको सम्भावित तेस्रो लहरको पूर्वतयारी लक्षित ल्याइएको नीति कार्यक्रमले जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै मोतियाबिन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसक्नेका लागि शल्यक्रिया गर्दा लाग्ने खर्चमा अनुदान दिने घोषणा बुटवलले नीति कार्यक्रममार्फत गरेको छ ।

 

नीति तथा कार्यक्रममा महिलामा स्तन क्यान्सर, प्रसूति तथा गर्भवती परीक्षण, पाठेघर परीक्षण र १४ वर्षमुनिका बालबालिकाको स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पु¥याउने उल्लेख गरिएको छ । 

 

नगरका गर्भवती महिलालाई आइरन, क्याल्सियमलगायत औषधी निःशुल्क वितरण गर्दै आधारभूत प्रयोगशाला सेवा निःशुल्क प्रदान गर्ने, नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाई निःशुल्क औषधी वितरण गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

 

विद्यार्थीमा बढ्दो आँखासम्बन्धी समस्या समाधान गर्न उपमहानगरले सबै सामुदायिक विद्यालयका विद्यार्थीको वर्षमा एक पटक निःशुल्क आँखा जाँच तथा परामर्श एवं चस्मा र उपचार सेवा सञ्चालन गर्ने घोषणा नीति कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

 

तीबाहेक उपमहानगरले जटिल र संवेदनशील मुटु, मिर्गौला, क्यान्सर, अटिज्म, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल ऐनिमियाका बिरामीलाई औषधोपचार खर्चमा अनुदान दिने नीति लिएको छ ।

 

उपमहानगरमा सञ्चालन गरिएका सरकारी स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउँदै पूर्ण खोप सुनिश्चितताका लागि सम्पूर्ण खोप क्लिनिक, कोल्ड चेन सेन्टरलाई थप प्रभावकारी बनाउँदै सहरी स्वास्थ्य केन्द्रबाट साप्ताहिक रूपमा खोप प्रदान गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

 

शिक्षामा नयाँ नीति 

 

बुटवलले गुणस्तरीय शिक्षामा समतामूलक अवसर सिर्जना गर्दै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सिकाइ उपलब्धिलाई मापन योग्य बनाउँदै लैजाने नीति अवलम्बन गरेको छ ।

 

त्यसका लागि प्रविधिमैत्री विद्यालयको विकास गरी ‘सिंगो बुटवल, एक विद्यालय’ को अवधारणाअनुरूप शिक्षाको नयाँ पद्धति अवलम्बन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

 

नयाँ शिक्षा नीतिअनुरूप अनाथ एवं विपन्न परिवारका बालबालिकालाई अन्य बालबालिकासरह शिक्षाको पहुँचमा ल्याइने, कोभिड–१९ महामारी सिर्जित प्रविधिको मागअनुसार विद्यालयलाई प्रविधिमैत्री बनाइने, शिक्षक र विद्यार्थीको अनुपात मिलाउन दरबन्दी मिलान गरिने तथा ललितकला विषय र विशेष कक्षा सञ्चालन गरिने नीति उपमहानगरले लिएको छ ।

 

माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँचमा विस्तार गरी स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिने नीति अवलम्बन गरिएको छ । त्यस्तै, शिक्षा क्षेत्रका चालू आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, इन्टरनेट सेवाको व्यवस्था मिलाउने घोषणा पनि नीति कार्यक्रममा गरिएको छ । 

 

रोजगार सिर्जना गर्न श्रम बैंक 

 

रोजगार सिर्जनाका लागि उपमहानगरले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारी बनाएर निरन्तरता दिई श्रम बैंक र श्रम डेस्क सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ । स्वरोजगार वृद्धि गर्ने, सीप सिकाउने र सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने नीति बुटवलले लिएको छ ।

 


त्यस्तै, यातायात क्षेत्रका श्रमिक, औद्योगिक क्षेत्रका श्रमिकलाई लक्षित गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ । विगतबाट सञ्चालित मेयर युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

 

त्यस्तै, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीतिसमेत नगरपालिकाले लिएको छ । 

 

मकै, गहुँ, तरकारीको बिउ, सिँचाइ बोरिङ, माछा पोखरी, दूध उत्पादन, फूल खेती, पशु बिमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै त्यसको निरन्तरता निरन्तरता दिएर सहरी कृषिलाई अझ प्रभावकारी बनाइने नीति लिएको छ । नगरसभाको जारी अधिवेशनमा आगामी आवको बजेट प्रस्तुत हुने कार्यक्रम रहेको सभाका सचिव तथा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।