close

घिरिङको नीति तथा कार्यक्रम: ताल बनाउनेदेखि निःशुल्क स्वास्थ्य सेवासम्म 

घिरिङको नीति तथा कार्यक्रम: ताल बनाउनेदेखि निःशुल्क स्वास्थ्य सेवासम्म 

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको नवाैँ अधिवेशनमा पालिका अध्यक्ष रनबहादुर रानाले कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।


कृषि तथा पशपक्षीपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउने गाउँपालिकाले नीति लिएको छ । ‘कृषि र पशुपक्षी उत्पादनलाई वृद्धी गर्न कृषि क्षेत्रको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, रणनीति तथा योजना तर्जुमा गरी कार्यन्वयन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।


कोभिड-१९ का कारण रोजगारी गुमाएर घर फर्किएकाको लगत संकलन गरी कृषिमा सामूहिक व्यवसाय गर्न चाहनेलाई तालिम, प्रविधि र सहुलियत ऋणका लागि वित्तीय संस्थासँग पहल गरिने भएको छ । दूध, माछामासु, अन्डा, सुन्तला, केरा, कागती, कफी, अदुवा, अलैँची, आलु, लसुन, प्याज उत्पादन वृद्धि कार्यक्रमलाई गाउँपालिकाले जोड दिएको छ । 

 

अध्यक्ष रानाका अनुसार पालिकाका मुख्य स्थानमा कृषि हाट बजार व्यवस्थापन गरिनेछ । एक गाउँ एक उत्पादन कृषि कार्यक्रमलाई अगाडि बढाइनेछ । उत्पादन प्रतिफलको आधारमा अनुदान, कृषियोग्य जमिन बाँझो नराख्न प्रोत्साहन, कृषियोग्य जमिनमा सहकारिताको आधारमा चक्लाबन्दी खेतीलाई प्रोत्साहन, कृषिमा यान्त्रिकीकरण, मल, बिउ, प्रविधि, प्रशोधन एवं भण्डारणका लागि अनुदानको व्यवस्था गर्ने नीतिमा समेटिएको छ । 

 

निःशुल्क स्वास्थ्य सेवा

गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने जनाएको छ । नेपालको संविधानमै हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्ने उल्लेख भएकाले त्यसैलाई आत्मसात् गर्दै गाउँपालिकाले कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवा अगाडि बढाइने पालिका अध्यक्ष रानाले जानकारी दिए । 


१० शय्याको कोभिड अस्थायी अस्पताललाई २० शय्याको बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ । ‘हरेक नागरिकको स्वास्थ्य सेवालाई लक्षित गर्दै स्वास्थ्य संस्थाको पहुँच नभएका स्थानमा घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने ।

 

प्रत्येक स्वास्थ्य संस्थामा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर वर्षमा १ पटक गर्ने कार्यक्रम घिरिङले ल्याएको छ । यसका लागि आवश्यक बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष रानाले बताए । स्वास्थ्यकर्मीको मनोबल बढाएर सुत्केरी सेवालाई थप प्रभावकारी गराउन प्रतिसुत्केरी स्वास्थ्यकर्मीलाई ५ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइनेछ । सुत्केरी, दुर्घटनामा परी घाइते भएका र ७५ वर्ष पुगेका बिरामीलाई अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने गाउँपालिकाको नीतिमा उल्लेख छ ।


खोला थुनेर ताल !

गाउँपालिकाको वडा नम्बर ३ मा गोफा खोलालाई थुनेर घुमाउने ताल बनाउने काम जारी छ । आगामी वर्ष पनि यो ताल निर्माणलाई निरन्तरता दिँदै अर्को नयाँ कृत्रिम ताल निर्माणको सम्भाव्यता अध्ययन गर्ने गाउँपालिकाको नीतिमा समेटिएको छ । 


वडा नम्बर ३ मै ताले ताल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने नीतिमा उल्लेख छ । अग्ला डाँडाकाँडामा कंक्रिटका भ्युटावर बनाउने योजनालाई घिरिङले निरन्तरता दिएको छ ।  पर्यटन गतिविधि बढाउन कालीगण्डकीमा र्‍याफ्टिङका लागि पहल थाल्ने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ गड्यौलीटारमा संघीय सरकारले निर्माण गर्ने औद्योगिक ग्रामको कामलाई तीव्रता दिने नीतिमा समेटिएको छ ।


गाउँपालिकाले विगत वर्षकै अधिकांश नीति तथा कार्यक्रमलाई दोहोर्‍याएको छ । सम्भवतः अहिलेका जनप्रतिनिधिले अन्तिम नीति तथा कार्यक्रममा आकर्षक र प्रभावकारी कार्यक्रमलाई भने समेट्न सकेनन् ।