close

देवघाटले तोक्यो गाउँपालिका गौरवका योजना

देवघाटले तोक्यो गाउँपालिका गौरवका योजना

Trulli
ADVERTISEMENT

तनहुँ- देवघाट गाउँपालिकाले गाउँपालिका गौरवको योजना सार्वजनिक गरेको छ । बुधबार आठौँ गाउँसभामा आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २२ वटा गाउँपालिकाका गौरवका योजना सार्वजनिक गरिएको हो । गाउँपालिकाको प्रशासकीयदेखि वडा कार्यालय भवन, पशुपक्षी फार्म, रंगशाला, भ्यूटावर, बालउद्यान, खानेपानी, सडक, अस्पताललगायतलाई गौरवको योजना तोकिएको छ । 


नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले भने, ‘जनअपेक्षा तथा आवश्यकता, भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको स्रोत-साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावनालगायत दृष्टिकोणले महत्त्वपूर्ण मानिएका योजनालाई पालिकाको गौरवका योजनाको रूपमा लिइएको छ । यसलाई उपलब्ध स्रोत-साधनको आधारमा बहुवर्षीय योजनाको रूपमा क्रमशः सम्पन्न गरिनेछ ।’ 


कोटामा बन्ने पशुपक्षी विकास फार्म, कोटा रंगशाला, छरछरे झरना तथा पर्यटन विकास, खाल्टे रंगशाला,    खाल्टे पार्क तथा बालउद्यान, घन्टाचुली भ्यूटावर पर्यटकीय स्थल, कोटवैदी कृषि अनुसन्धान केन्द्र, जनजाति संग्रहालय कर्ताप, ऐतिहासिक प्याउलीगढी कर्ताप, ऐतिहासिक सिंच्याङगढी सिंच्याङ, देवघाट-साउने-कर्ताप सडक, गाईघाट- काफलडाँडा-छिपछिपे सानुभन्ज्याङ सडक पालिकाका गौरवका योजना हुन् । 

 

यस्तै, सुन्तला मार्ग, खाल्टे-मास्दीघाट सडक, देवघाट एकीकृत योजना, देवघाट गाउँपालिका अस्पताल, बाख्रा, सुन्तला, तरकारी, गाई पकेट क्षेत्र, सिंच्याङ-पार्लाङ-साराङघाट सोमेश्वर मार्ग,     खानेपानी योजना, गाउँपालिका प्रशासकीय भवन, वडा नम्बर १ र ५ को वडा कार्यालय भवन, कोटा-चण्डुली-जामुने मोटर मार्गसमेत गाउँपालिकाको गौरवको योजनामा समावेश भएका छन् ।


गाउँपालिकाको नीति तथा कार्यक्रममा पुर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । संघ, प्रदेश सरकार र आफ्नै लगानीमा मोटरेबल पुल, झोलुंगे पुल, सडक, प्रहरी चौकी भवन, खेलमैदान निर्माण गर्र्ने उल्लेख छ ।


कोरोना नियन्त्रणलाई पनि गाउँपालिकाको नीति तथा कार्यक्रमले जोड दिएको छ । ‘कोभिड-१९ को निःशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ,’ गाउँपालिका अध्यक्ष थापाले भने ।


स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन गाउँपालिका स्वास्थ्य नीति, कानुन र मापदण्ड तर्जुमा गरिनेछ । ‘दातृ निकायसँगको सहयोग तथा समन्वयमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।