close

फुङ्लिङले ल्यायो करिब साढे ६३ करोडको बजेट

सामाजिक र पूर्वाधार विकास प्राथमिकतामा

फुङ्लिङले ल्यायो करिब साढे ६३ करोडको बजेट

सामाजिक र पूर्वाधार विकास प्राथमिकतामा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सामाजिक सुरक्षा अनुदानबाहेक ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैयाँको बजेट ल्याएको छ ।


नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैयाँ सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ । सामाजिक सुरक्षा अनुदानबाहेकको बजेटबाट नगरपालिकाले चालूतर्फ ३९ करोड ४५ लाख ५१ हजार रुपैयाँ (६२.२४ प्रतिशत) र पुँजीगततर्फ २३ करोड ९३ लाख ६४ हजार रुपैयाँ (३७.७६ प्रतिशत) खर्च हुने अनुमान गरेको नगर उपप्रमुख बमबहादुर भट्टराईले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।


उपप्रमुख भट्टराईका अनुसार सामाजिक विकासतर्फ ३१ करोड ४८ लाख ५० हजार (४९.७६ प्रतिशत), पूर्वाधार विकासतर्फ १६ करोड १४ लाख ५५ हजार (२५.४७ प्रतिशत), आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार (५.३४ प्रतिशत), सुशासन एवं अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड १६ लाख ४० हजार (१.८४ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २१ लाख १५ हजार (१७.६९ प्रतिशत) रुपैयाँ विनियोजन भएको छ ।


उक्त खर्च वहनका लागि नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १६ करोड २० लाख, राजस्व बाँडफाँटको रकम ७ करोड ७८ लाख ९० हजार, ससर्त अनुदान २८ करोड १० लाख र विशेष अनुदान १ करोड ४९ लाख, समपुरक अनुदान १ करोड ९५ लाख रुपैयाँको स्रोत प्राप्त हुनेछ ।


यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ९५ लाख ९७ हजार, राजस्व बाँडफाँटको १ करोड ४ लाख २ सय १०, समपुरक अनुदान १ करोड, ससर्त अनुदान ७ लाख ५ हजार र आन्तरिक स्रोतबाट ४ करोड ८९ लाख २३ हजार रुपैयाँ बेहोर्ने नगरपालिकाको योजना छ ।

 

नगरपालिकासँगको सहकार्यमा ३ वटा गैरसरकारी संस्थामार्फत २ करोड ९२ लाख २८ हजार ९१ रुपैयाँ खर्च हुने उपप्रमुख भट्टराईले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

 

नगरपालिकाले पूर्वाधार विकासतर्फ ५७ वटा सडक, १८ वटा भवन, ४ वटा शौचालय, ३ वटा तटबन्ध, ४ वटा कज्वे, ३ वटा नाली, २ वटा कल्भर्ट, १० वटा पदमार्ग, २ वटा पर्खाल, २ वटा खेलमैदान, एउटा ऊर्जा र २ वटा सिचाँइका योजना कार्यान्वयन गर्ने गरी कुल १६ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, लैंगिक समानता र समावेशीकरणसम्कन्धी २७२ वटा कार्यक्रम सञ्चालन गर्न ३१ करोड ४८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

कृषि, सहकारी, पशुपालन, सहकारी उद्योग र पर्यटन क्षेत्र गरी आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत पर्यटनमा ११, कृषिमा ३७, सहकारीमा ३, उद्योगमा ४, सिँचाइमा ४ र पशुपक्षीमा २१ वटा योजना रहनेछन् ।

 

वन वातावरण र विपद् व्यवस्थापनतर्फ २४ लाख ७५ हजार रुपैयाँको बजेट रहेको छ । यसमध्ये प्राकृतिक प्रकोप र विपद् व्यवस्थापनका लागि १९ लाख ८० हजार र तारजाली खरिदमा ४ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

सार्वजनिक सेवा तथा क्षमता विकासका लागि १२ वटा योजना सम्पन्न गर्न ७२ लाख १५ हजार रुपैयाँ विनियोजन भएको छ । विधायन समितिका ३ वटा र न्यायिक समितिका ३ वटा कार्यक्रमका गर्न प्रत्येकमा ८ लाख २५ हजार रुपैयाँका दरले बजेट विनियोजन भएको छ । सार्वजनिक लेखा परीक्षकको क्षमता विकासका लागि १ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । 

 

१५ प्रतिशत कर छुट 

नगरप्रमुख छत्रपति प्याकुरेलद्वारा प्रस्तुत नीतिअनुसार नगरपालिकाले कोभिड-१९ को महामारीका कारण व्यापार व्यवसाय बन्द भएकामा आगामी आर्थिक वर्षको व्यवसाय कर तथा फोहोरमैला व्यवस्थापन शुल्कमा बन्दाबन्दी अवधिभरमा बन्द रहेका व्यापार व्यवसायको हकमा १५ प्रतिशतसम्म छुट दिने नीति पारित गरेको छ । 

 

२०८२ भित्र समृद्ध नगरको आधारभूत स्तर निर्माण

नगरपालिकाले प्रथम नगरपालिका गुरुयोजना तर्जुमालाई आगामी आर्थिक वर्षबाट लागू गर्ने घोषणा गरेको छ । २०८२ असार मसान्तभित्र यातायात, आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिकलगायत पूर्वाधारको आधारभूत स्तर निर्माण गरी नगरपालिकाको दिगो विकास र समृद्धिको आधारभूत जग स्थापित गर्ने घोषणा गरेको छ ।

 

यस्तै, आगामी २० वर्षभित्र ताप्लेजुङको सामाजिक सुरक्षासहितको सुविधासम्पन्न तथा सीपयुक्त मानवीय स्रोत-साधनको विकाससहित मानव विकास सूचकांकको अवस्थामा शतप्रतिशत वृद्धि गर्ने लक्ष्य लिएको छ ।

 

नगरपालिकाले यातायात सञ्जाल, व्यावसायिक कृषि, पर्यटन र पूर्वाधार, शिक्षा, स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार नारा तय गरेको छ । 

 

पूर्वाधार तथा पर्यटन प्रवर्द्धनलाई जोड 

नगरपालिकाले निर्माण गरेका सडकलाई बाह्रै महिना सञ्चालन हुने तहको बनाउने, नगरपालिकाको वडा नम्बर २, ३, ६, ७, ८ र ११ नम्बर वडाका प्रशासकीय भवन बनाउने भनिएको छ । नगरपालिकाले वडा नम्बर १ र ४ को प्रशासकीय भवनबाट यसै आर्थिक वर्षमा सेवा प्रवाह सुरु गर्ने घोषणा गरेको छ ।

 

नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन तथा आउजामा सहजताका लागि विभिन्न स्थानमा पदमार्ग निर्माण गर्ने भएको छ । निर्माणाधीन अवस्थामा रहेका खेल मैदानको स्तरोन्नति तथा थप खैल मैदान निर्माण गरिने नीतिगत घोषणा गरेको छ । 
आगामी आवमा नगरपालिकाका वडा नम्बर ९, १० र ११ मा समेत केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिसक्ने नगरपालिकाको नीति छ । 

 

विद्यार्थीलाई टिफिन बक्स वितरणदेखि प्राविधिक विषय पढाइने

नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि टिफिन बक्स र झोला वितरण गर्ने कार्यक्रम राखेको छ ।

 

सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण जेहेनेदार विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ । नगरपालिकाले नगर क्षेत्रको शैक्षिक प्रोफाइल बनाउने भएको छ ।