close

बागलुङका पालिकाको बजेट: प्राथमिकतामा छानादेखि भाषासम्म 

बागलुङका पालिकाको बजेट: प्राथमिकतामा छानादेखि भाषासम्म 

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट गत वर्षको भन्दा १० करोड रुपैयाँ बढी हो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ९४ करोड ७७ लाख ८६ हजार ३३७ रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । 


नगर उपप्रमुख सुरेन्द्र खड्काले बिहीबार सार्वजनिक गरेको बजेटमा चालू तथा पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ १५ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटले पूर्वाधार निर्माण, जनस्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । 


उपप्रमुख खड्काले पूर्वाधार विकास कार्यक्रमतर्फ २३ करोड ५ लाख, आर्थिक विकासतर्फ कृषिमा १ करोड ५९ लाख, पशु विकासतर्फ ६९ लाख, पर्यटनमा १ करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रवर्द्धनमा ४ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । 


यस्तै, सामाजिक विकासतर्फ शिक्षामा ३९ करोड ५१ लाख बजेट विनियोजन गर्दै प्रारम्भिक बालविकास केन्द्रका सहजकर्तालाई सरकारले घोषणा गरेको मासिक पारिश्रमिकमा ७ हजार थप गरी १५ हजार कायम गर्ने व्यवस्था गरिएको छ । 


जनस्वास्थ्य सेवातर्फ ९ करोड ५८ लाख ६५ हजार, युवा तथा खेलकुद विकास विकासतर्फ बांगेचौर खेल मैदान निर्माणका लागि संघ, प्रदेश र नगरपालिकाको समपुरक कोष गरी ३ करोड ४२ लाख, मेयर कप कार्यक्रम र राष्ट्रपति रनिङ सिल्ड, खेलकुद मैदान सुधार र विस्तारका लागि ९३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

काठेखोलाको प्राथमिकता शिक्षा र स्वास्थ्य 

काठेखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 
गाउँपालिका उपाध्यक्ष अर्जुनबहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्य र कृषि तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिएको बजेट नवौँ गाउँसभमा प्रस्तुत गरे । 


सामाजिक विकासका कार्यक्रमका लागि १ करोड ५५ लाख, पूर्वाधार विकासका कार्यक्रमका लागि ३ करोड ११ लाख ७८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३५ लाख ९७ हजार, सुशासन तथा संस्थागत विकासका लागि ३५ लाख ९७ हजार, आर्थिक विकासका लागि १ करोड ५५ लाख ८९ हजार, वडाका गौरवका आयोजनाका लागि २ करोड ५१ लाख ८२ हजार रुपैयाँ र सामाजिक विकास, लक्षित वर्ग, मर्मतसम्भार अन्य भौतिक पूर्वाधारलगायत शीर्षकमा बजेट विनियोजन भएको हो । 

 

ताराखोला: पर्यटन डिपिआर र मितेरी स्तम्भ आकर्षणका बिषय

ताराखोला गाउँपालिकाले पर्यटन गाउँ विकासका लागि स्टोन भिलेज कार्यक्रमसहितको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पर्यटन गुरुयोजना र डिपिआर बनाउने लक्ष्य छ ।


डिपिआरअनुसार गाउँपालिकामा बजेट परिचालन गरेर आर्थिक समृद्धि ल्याउने उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । यसअघि पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकासँग मितेरी साइनो जोडेको छ । 


गाउँपालिकाले ३५ करोड ५१ लाख ८६ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको हो । यसमा पुँजीगततर्फ १० करोड ९१ लाख ४५ हजार ९ सय ९८ रुपैयाँ र चालूतर्फ ससर्त अनुदानसहित १८ करोड ८० लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको हो । 


पर्यटन प्रवर्द्धनकै लागि गाईघाट झरना पुनर्निर्माण र व्यवस्थापन गरेर आकर्षण बढाउन १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि विकास कार्यक्रमका लागि ४८ लाख ५० हजार रकम विनियोजन छ । करिमेला गाउँलाई स्टोन भिलेज बनाउन यो बजेटमा १५ लाख विनियोजन भएको छ । सामाजिक विकासतर्फ बालविकास सहजकर्ताको तलब बढाउन ४२ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

 

जैमिनीको बजेट ६४ करोड १३ लाख

दक्षिण बागलुङको जैमिनी नगरपालिकाले ६४ करोड १३ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरले आर्थिक विकासको माध्यमबाट गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने उल्लेख गरेको छ ।


समग्र नगरक्षेत्रको समानुपातिक र सन्तुलित विकासमा सहयोग पुर्‍याउने लक्ष्य उसले राखेको । स्थानीय स्रोत-साधनको प्रयोग र जनसहभागिताको परिचालनबाट दिगो र वातावरणमैत्री विकासमा सहयोग पुर्‍याइनेछ ।


रोजगारी र स्वरोजगारको विभिन्न अवसर सिर्जना गरी समृद्धितर्फ उन्मुख गराउने, सामाजिक समावेशीकरणको माध्यमबाट आर्थिक, सामाजिक क्षेत्रको विकासमा सहयोग पुर्‍याउने, सहज र आधारभूत सेवा प्रदान गर्न जोड दिने, उद्यमशीलताको प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने, गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम र उच्च प्रकारको जनशक्ति उत्पादन गर्ने तथा र कोभिड–१९ प्रभावले वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई उनीहरूको सीप, क्षमताको अधिकतम उपयोग गरी आयमूलक काममा प्रयोग गर्नेलगायत उद्देश्य नगरको बजेटमा समावेश छन् । 

 

बडिगाड: सुरक्षित छानालाई २ करोड बजेट

बडिगाड गाउँपालिकाले खरका छाना विस्थापन गर्ने कार्यक्रमका लागि २ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक, सामाजिक र पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको गाउँपालिकाले आउँदो आर्थिक वर्षमा खरका छाना विस्थापन गरेर जस्तापाताको छाना लगाउने कामलाई उच्च प्राथमिकतामा राखेको हो ।

 

गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न २ करोड १० लाख तथा गाउँपालिकाभित्रका सवै वडामा वडा कार्यालय निर्माण सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खानेपानी योजनाका लागि २ करोड ८१ लाख ९८ हजार रुपैयाँ विनियोजन भएको छ ।

 

स्वास्थ्य, शिक्षा कृषि र पर्यटनमा ढोरपाटनको जोड

ढोरपाटन नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले नीति तथा कार्यक्रम र उपप्रमुख करमति पुनले बजेट सार्वजनिक गरेका हुन् ।

 

बिहीबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्तिको व्यवस्थापनलाई विशेष जोड दिएको छ ।  नगरले आगामी आर्थिक वर्षका लागि ४४ करोड, ६५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो ।


शिक्षा, रोजगार, पूर्वाधार निर्माण र पर्यटनलाई समेत महत्त्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शय्याको प्रदेश स्तरीय अस्पतालमा स्तरोन्नति गरिने नीति प्राथमिकतामा परेको छ । 


मेयर स्वास्थ्य कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँको स्वास्थ्य बिमामा गर्ने कार्यक्रम प्राथमिकतामा परेको छ । अतिविपन्न तथा सीमान्तकृत समुदाय समावेश हुनेछ । मेयर शैक्षिक सुधार कार्यक्रम, एक वडा एक नमुना विद्यालयलगायत शिक्षा क्षेत्र सुधारका कार्यक्रम नगरको नीतिमा समावेश भएका छन् ।  सोहीअनुसारको बजेटको व्यवस्थापनसमेत गरिएको उपप्रमुख पुनले बताइन् ।


निसीको नीति: आफ्नै भाषाको पाठ्यक्रम

बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक बर्षदेखि आफ्नै पाठ्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ । बिहीबार आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधारको नीति लिएको हो ।


अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नै भाषाको पुस्तकल र पाठ्यक्रम तयार गरेर पठनपाठन गराइने उल्लेख छ । आठौँ गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले ४४ करोड ८४ लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।


बजेटले नीति तथा कार्यक्रममा समावेश कार्यक्रमलाई नै प्राथमिकतामा राखेको छ । गाउँपालिका शैक्षिक गुरुयोजना निर्माण गरिने नीति छ । पालिका अध्यक्षसँग बालबालिका कार्यक्रम, विभिन्न सचेतना कार्यक्रम, युवा रोजगार, कृषिसमेत प्राथमिकतामा परेका छन् । पालिकाले कोभिड–१९ नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ । कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने कार्यक्रम छ । 

 

जलजलामा ५ सय मजदुरको सञ्चय कोष 

पर्वतको जलजगा गाउँपालिकाले महामारी नियन्त्रण र विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाले योजनासहित बजेटको व्यवस्थापन गरेको हो ।  नागरिकको स्वास्थ्य र जीवनरक्षाका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । 


गाउँपालिकाले प्रस्तुत गरेको ४५ करोड, १५ लाख ५० हजार रुपैयाँको बजेटमा ५ सय मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम समावेश छ । श्रम गरेर जीविकोपार्जन गर्दै आएका गाउँपालिकाभित्रका ५ सय मजदुरलाई पहिलो चरणमा यो सञ्चय कोष कार्यक्रममा सहभागी गराइनेछ ।

 

कोरोना महामारीको पहिलो लहरदेखि नै नियन्त्रण र रोकथाममा लागेको गाउँपालिकाले दोस्रो लहरमा समेत सबै नागरिकको पिसिआर परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्दै आएको जनाएको छ । कोरोनाबाट मृत्यु भएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत दिन बजेट विनियोजन गरिएको अध्यक्ष मल्लले बताए ।


बजेटमा १ करोड ६० लाख रुपैयाँको अध्यक्ष हातेमालो कार्यक्रमसमेत समावेश गरिएको छ । यो बजेट अशक्त र असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र दलित, महिला तथा विपन्नको आयआर्जनका लागि खर्च गरिने अध्यक्ष मल्लले जानकारी दिए ।


गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि डेढ करोड रुपैयाँ विनियोजन गरेको छ भने निर्माण हुन बाँकी वडा नम्बर २ र ८ का वडा कार्यालय भवन निर्माणका लागिसमेत बजेट छुट्याइएको छ ।


गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले कालीगण्डकीको ढुंगागिट्टी र बालुवालाई व्यवस्थित ढंगले उत्खनन र सञ्चालन गरी आन्तरिक आय वृद्धि गर्ने, पालिकाभित्रका सबै सडकलाई स्तरोन्नति गर्ने, पालिकाभित्रको पर्यटन, कृषि, पशुपालन र जडीबुटीलाई प्रवद्र्धन गर्ने कार्यक्रम अघि सारेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।