close

जनप्रतिनिधिको वहिष्कारका बीच मैवाखोलाले ल्यायो ३५ करोडको बजेट

जनप्रतिनिधिको वहिष्कारका बीच मैवाखोलाले ल्यायो ३५ करोडको बजेट

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कार्यपालिका प्रवक्तासहितका जनप्रतिनिधिले बजेट अधिवेशन वहिष्कार गरे पनि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले करिब ३५ करोड रुपैयाँको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । पालिकाले ३४ करोड ७३ लाख ४९ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

 

चालूतर्फ ५ करोेड ६८ लाख ६५ हजार र २९ करोड ४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ । अन्य पालिकाभन्दा मैवाखोला गाउँपालिकाले ठीक विपरीतको बजेट ल्याएको छ ।

 

अरू पालिकाले चालू खर्च बजेट र पुँजीगत खर्च कम भएको बजेट ल्याएका छन् । मैवाखोलाले भने चालू खर्चको तुलनामा ५ गुणा बढी रकमको पुँजीगत बजेट ल्याएको छ । 

 

गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान, राजस्व बाँडफाँट र समपुरक अनुदान तथा पालिकाको आन्तरिक आय र आन्तरिक स्रोत नगद मौज्दात (अल्या) रकमबाट बजेटको स्रोत जुटाउने भनेको छ ।

 

उपाध्यक्ष कौशिल थत्लुङद्वारा प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ करोड ८५ लाख, राजस्व बाँडफाँटबापतको अनुदान ५ करोड ५२ लाख ६४ हजार, ससर्त अनुदान १७ करोड २५ लाख गरी कुल ३२ करोड ६२ लाख ६४ हजार रुपैयाँको सिलिङ प्राप्त भएको छ ।

 

यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदान ५५ लाख ५४ हजार, ससर्त अनुदान ५ लाख ३१ हजार र समपुरक अनुदान १ करोड गरी कुल १ करोड ६० लाख ८५ हजारको बजेट सिलिङ प्राप्त भएको छ ।

 

आन्तरिक आम्दानी २५ लाख र आन्तरिक स्रोतअन्तर्गत नगद मौज्दात (अल्या) २ करोड ५० लाख रुपैयाँसमेतको रकमलाई आधार मानी पालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याएको उपाध्यक्ष थत्लुङले जानकारी दिइन् । 

 

किसानलाई सहुलियत ऋण उपलब्ध गराउन कोष, विद्यार्थीलाई मनोसामाजिक परामर्श

 

गाउँपालिकाले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिकीकरण गर्ने प्रयासस्वरूप किसानलाई सहुलियत ऋण उपलब्ध गराउन छुट्टै कोष बनाउने भएको छ । अध्यक्ष राजनकुमार थत्लुङद्वारा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार पालिकाका नागरिकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन उन्नत जातका बिउबिजन र उत्पादनका सामग्री अनुदानमा दिइने भएको छ ।

 

कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएकालाई सामूहिक उद्यम सिर्जनाका लागि सीपमूलक तालिम दिई अनुदानको व्यवस्था गर्ने तथा घरेलु सीप र अनुभवका आधारमा व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ । 

 

पालिकाले भौतिक पूर्वाधार निर्माणका आयोजनामा वातावरण सन्तुलनलाई समेत ध्यानमा राखेर मानव स्रोतको अधिकतम प्रयोग गर्ने र सोहीमार्फत रोजगारी सिर्जनामा सहयोग पु¥याउने भनेको छ । पालिकाभित्रका जग्गाविहीन सुकुम्बासीलाई यसै आर्थिक वर्षभित्र व्यवस्थापन गर्ने गरी आधार तयार गरिने भएको छ ।

 

पालिकाले कोभिड–१९ का कारण विद्यार्थीलाई पर्न गएको मानसिक असर कम गर्न मनोसामाजिक परामर्श कार्यक्रम चलाउने भएको छ । पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय व्यवस्थापनदेखि शिक्षक र विद्यार्थीसमेतलाई पुरस्कार तथा सम्मान गर्ने भएको छ । 

 

प्रवक्तासहितका जनप्रतिनिधिले गरे बजेट अधिवेशन वहिष्कार

 

बजेट विनियोजन प्रक्रियामा अध्यक्ष र उपाध्यक्षले आफ्नो वडालाई उपेक्षा गरेको भन्दै वडा नम्बर ३ का वडाध्यक्ष थर्ककुमार चोङ्वाङसहितका पदाधिकारीले पालिका अधिवेशन वहिष्कार गरेका छन् ।

 

बजेट विनियोजनको विवाद वहिष्कारसम्ममा पुगेपछि अधिवेशनले बहुमतका आधारमा बजेट पारित गर्नुपरेको छ । ‘हाम्रो वडालाई अपेक्षा गरेको स्थिति बताएपछि वडापालिकाका सबै सदस्यले बजेट अधिवेशनमा नजाने भन्नुभयो’, गाउँपालिकाका प्रवक्तासमेत रहेका चोङ्वाङले भने, ‘त्यसपछि पालिका अधिवेशनमा गइएन । भरे बुझ्दा वडा नम्बर १ का वडाध्यक्ष दुर्गा तामाङ पनि आउनुभएन छ ।’

 

उनले बहुमतका आधारमा बजेट पारित भएको खबर आफूले सुनेको जानकारी दिए । २५ लाख रुपैयाँ बजेटबाट वडा नम्बर ३ मा समावेशी भवन बनाउन गरेको प्रस्ताव अध्यक्ष थत्लुङ र उपाध्यक्ष कौशिला थत्लुङले ठाडै अस्वीकारेको चोङ्वाङको आरोप छ ।

 

समावेशी भवनमा नभए तुम्बेस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा योजना लगाउन गरिएको प्रस्ताव पनि रोकिएकाले वडा नम्बर ३ प्रति गरिएको पूर्वाग्रहका कारण आफूहरूले बजेट अधिवेशन वहिष्कार गरेको चोङवाङले बताए ।

 

उनका अनुसार यसपटक समावेशी भवन निर्माणका लागि बजेट पाउने पालो वडा नम्बर ३ को थियो । ६ वटा वडा रहेको मैवाखोलामा अध्यक्ष र उपाध्यक्षसहित ३२ सदस्य पालिकासभामा १ जना वडा सदस्य कांग्रेसबाट विजयी हुन् ।

 

बाँकी ३१ जना एमालेबाट नर्वाचित हुन् । पछि कार्यपालिकामा निर्वाचित २ जना पनि एमालेबाटै निर्वाचित भएका थिए ।