close

मिक्वाखोलाको बजेट करिब ३४ करोड

अब खोक्लिङका प्रत्येक घरमा ग्यास चुल्हो

मिक्वाखोलाको बजेट करिब ३४ करोड

अब खोक्लिङका प्रत्येक घरमा ग्यास चुल्हो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ३३ करोड ८० लाख १२ हजार रुपैयाँ खर्च हुने गरी बजेट पेस गरेको छ ।

 

पालिका उपाध्यक्ष रुद्रकुमारी प्राङ्देन साँवाका अनुसार चालूतर्फ ६ करोड ८५ लाख ४१ हजार, ससर्ततर्फ १२ करोड ४९ हजार र पुँजीगततर्फ ९ करोड २४ लाख २२ हजार, विशेष अनुदानतर्फ ८३ लाख र समपुरक अनुदानतर्फ २ करोड ४० लाख रुपैयाँ बराबरको बजेट पेस भएको छ । 


पालिकाले सामाजिक सुरक्षातर्फ २ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । पालिकाले आन्तरिक आयतर्फ सिफारिस, एकल सम्पत्ति कर तथा विविध स्रोतबाट ४८ लाख रुपैयाँ उठाउने अनुमान गरेको छ । 

 

पालिकाका २ वडाका नागरिकका घरघरमा ग्यास चुल्हो 

मिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २ खोक्लिङका प्रत्येक घरमा अब ग्यास चुल्हो पुग्ने भएको छ । यसका लागि वडा नम्बर १ ले २५ लाख र वडा नम्बर २ ले २७ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

 

साविक खोक्लिङ गाविसलाई फुटाएर अहिले मिक्वाखोलाको वडा नम्बर १ र २ कायम गरिएको छ । बजेट शीर्षक फरक परे पनि दुवै वडाले ग्यास चुल्होका लागि रकम विनियोजन गरेका हुन् ।


वडा नम्बर १ ले एक घर एक खाना पकाउने ग्यास चुल्हो वितरण भनेको छ भने वडा नम्बर २ ले एक घर एक ग्यास सेट वितरण कार्यक्रम सार्वजनिक गरेको हो । 

 

वडा नम्बर ४ र ५ का वडाध्यक्षले लिँदैनन् भ्रमण खर्च 

५ वटा वडा रहेको मिक्वाखोला गाउँपालिकाका २ वटा वडाका वडाध्यक्षले भ्रमण खर्च नलिने घोषणा गरेका छन् । वडा नम्बर ४ का वडाध्यक्ष भीम लिम्बू र वडा नम्बर ५ का वडाध्यक्ष डण्डु लामाले भ्रमण खर्च नलिने भएपछि पालिकाले सोहीअनुसार बजेट विनियोजन गरेको छ । 

 

प्रत्येक वडाका वडाध्यक्षका लागि कम्तीमा १ लाख रुपैयाँका दरले भ्रमण खर्च राख्ने योजना बनाएको पालिकाले वडा नम्बर ४ र ५ का वडाध्यक्षबाहेकका लागि ३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको छ ।


यदि सबै वडाध्यक्षले भ्रमण खर्च लिने अवस्थामा यो शीर्षकमा ५ लाख रुपैयाँ रकम विनियोजन भएको हुन्थ्यो । 

 

अध्यक्ष कृषि आयोजना पालिकाको गौरव योजना

गाउँपालिकाले अध्यक्ष कृषि आयोजना स्थानीय गौरवको आयोजनाको रूपमा सञ्चालन गर्ने नीति लिएको छ । बहुआयामिक र बहुवर्षे ठानिएको यो आयोजनाका क्रममा समुदायको मागका आधारमा कृषि परियोजना सञ्चालन गरिनेछ ।


कृषिजन्य नगदेबाली उत्पादनका लागि आवश्यक सीप र प्रविधि हस्तान्तरण गरिनेछ भने आम्दानी बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । पर्यटन तथा पशुपालन व्यवसायका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।


लोपोन्मुख तथा मकैबाली संरक्षणका लागि ग्रामीण स्तरमा बिउ बैंक स्थापना गर्ने नीतिसमेत गाउँपालिकाले लिएको छ । 

 

फुङ्फुङ्गे मिनी म्याराथन 

गाउँपालिकाले हरेक वर्षको १६ माघमा सहिद दिवस अवसर पारेर अध्यक्ष कप वडा स्तरीय पुरुष तथा महिला भलिबल तथा फुटबल खेलाउने भएको छ । हरेक वडाबाट छानिएका फुटबल र भलिबल खेलाडीमा लागि अतिरिक्त प्रशिक्षणको व्यवस्था गर्ने र तिनलाई क्लबमा आबद्ध गरी व्यावसायिक खेलका प्रेरित गर्ने नीति पालिकाको छ ।


यस्तै, संविधान दिवसको दिन ३ असोजमा फुङ्फुङ्गे मिनी म्याराथन आयोजना गरिने भएको छ । खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने पालिकाको घोषणा गरेको छ । 


मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ साँवामा रहेको फुङ्फुङ्गे झरनाले पछिल्लो समय आन्तरिक पर्यटक तानिरहेको छ ।