close

गल्याङले उठायो २ करोड बढी राजस्व

गल्याङले उठायो २ करोड बढी राजस्व

Trulli
ADVERTISEMENT

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाले गत आवमा लक्ष्यभन्दा १ सय ९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आवको नीति तथा योजना कार्यान्वयनबारे मंगलबार गरेको वार्षिक समीक्षामा यसबारे सार्वजनिक गरेको हो । 


नगरपालिकाका ११ वटै वडा तथा शाखा प्रमुखले पेस गरेको गत वर्षको प्रतिवेदनअनुसार गत आवमा लक्ष्यभन्दा १ सय ९ प्रतिशत धेरै राजस्व नगरपालिकाले संकलन गरेको हो ।


गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरवासीलाई अधिकतम सेवा दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । उनले कसैको पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिए । 


नगरप्रमुख अधिकारीले भने, ‘नगरवासीका काम सकेसम्म छिटो र छरितो गर्नमा सबैले जोड दिनुपर्छ ।’ कोरोना संक्रमणका कारण योजनाअनुसारका सबै काम गर्न नसके पनि धेरै काम भएको उनले बताए । 

नगरप्रमुख अधिकारीले स्थानीय तहको बेरूजु घटाउन कर्मचारीकै भूमिका धेरै हुने भएकाले आगामी वर्ष बेरूजु न्यून पार्नेतर्फ लाग्न पनि अनुरोध गरे । उनले भने, ‘कागजपत्र र विधि कहाँ के पुगेको छैन, त्यो हेर्ने र पूरा गर्नेतर्फ गम्भीरतापूर्वक लाग्न म आग्रह गर्दछु ।’


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले साधन स्रोतको कमी भए पनि धेरैभन्दा धेरै सेवा दिनुपर्नेमा जोड दिए । वर्षको अन्त्यमा जसोतसो काम सक्ने र भुक्तानी दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । 

 

राजस्व शाखाको प्रतिवेदन पेस गर्दै शाखा प्रमुख प्रेमबहादुर आलेले अनुमानित आयभन्दा १ सय ९ प्रतिशत बढी २ करोड १९ लाख ९६ हजार २ सय ६ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । 


उनका अनुसार गत आवमा वडाहरूबाट ३८ लाख २७ हजार ९ सय ५२, नदीजन्य पदार्थको ठेक्काबाट ४२ लाख १६ हजार ५ सय ९७ तथा नदीजन्य पदार्थमा कर्मचारी परिचालनबाट ४० लाख १० हजार १ सय ५० रुपैयाँ राजस्व संकलन भयो ।


यस्तै, पशु सेवा शाखाका प्रमुख सुशील अर्यालले पशुपालनमा दिएका अनुदानमध्ये दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले ७८ लाख ९९ हजार ९ सय २० रुपैयाँ अनुदान दिइएको जानकारी दिए । उनले उक्त अनुदानबाट १ हजार १ सय ७९ किसान परिवारलाई प्रत्यक्ष फाइदा भएको बताए । 


गाई र भैंसीमा लागत साझेदारी कार्यक्रमअन्तर्गत ६२ लाख ६६ हजार रुपैयाँ अनुदानबाट २ सय ९४ जना किसान प्रत्यक्ष लाभान्दित भएको जानकारी पनि अर्यालले दिए । 


पशु सुरक्षण कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ अनुदान १ हजार २ सय ५ जना किसानले पाएका छन् । यसैगरी ४ प्रतिशत कृषि ऋण अनुदानअन्तर्गत १५ लाख रुपैयाँ वितरणबाट २ सय ८१ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।


यस्तै, बंगुरपालनअन्तर्गत १५ लाख रुपैयाँ अनुदान वितरणबाट ६४ परिवार लाभान्वित भएका र ११ वटै वडाका कुखुरापालन कार्यक्रमका लागि ५० प्रतिशत दिने नीतिअनुसार १ हजार १ सय ९४ कृषकले ५ लाख रुपैयाँ अनुदानवापत पाएका छन् । 


वडा सचिवहरूले कर्मचारी अभाव, कर्मचारीलाई तालिम, कम्प्युटर प्रिन्टरलगायत उपकरणको आवश्यकता, इन्टरनेट लगायतका समस्या समाधान भए छिटो छरितो र सहज रुपमा काम हुने बताए ।