close

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : तत्काल परीक्षण उडान गर्न संघको माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : तत्काल परीक्षण उडान गर्न संघको माग

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सञ्चालन गर्न सरकारसँग माग गरेको छ । करिब ९८ प्रतिशत निर्माण पूरा भएको विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाइ भएको बताउँदै थाइल्यान्डको एरोथाई कम्पनीले परीक्षण उडान गर्न मानेको छैन । 


अन्य विकल्प प्रयोग गरेरै भए पनि यथाशक्य चाँडो विमानस्थल सञ्चालनको प्रबन्ध मिलाउन माग गरेको हो ।  बुटवल उद्योग वाणिज्य संघको टोलीले हालै विमानस्थलको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनका क्रममा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थल निर्माणको काम करिब पूरा भएको र परीक्षण उडानका लागि थाइल्यान्डको एरोथाई कम्पनी तयार नहुँदा सञ्चालन अनिश्चित बनेको जानकारी पाएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । 


नयाँ ठेक्कामा जाँदा झन् धेरै समय लाग्ने र जी टु जी (सरकार–सरकार) बाट भए पनि परीक्षण उठानको प्रयास भइरहेको संघको टोलीलाई विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराएका थिए ।


अधिकारीका अनुसार सकेसम्म थाइल्यान्डकै प्रविधि जडान भएकाले उसैले गरोस् भन्ने आयोजनाको चाहना छ । अबको करिब ३ महिनामा निर्माणका सबै काम सकिने र परीक्षण उडानको काम मात्रै बाँकी हुनेछ ।


विमानस्थल चाँडो सञ्चालनमा आउन सके त्यसका माध्यमबाट यस क्षेत्रको पर्यटन उद्योग फस्टाउनुका साथै व्यापार विस्तार गर्न र कार्गो विमानमार्फत यस क्षेत्रका कृषिजन्य उत्पादन कफी, फलफूल, जडीबुटी, खाद्यान्नलगायत निर्यातको सम्भावना रहेको संघका अध्यक्ष कसजूको भनाइ छ । 


पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारीलगायतले यस क्षेत्रको आर्थिक विकासलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल यथाशक्य चाँडो सञ्चालनमा ल्याउन सरकारी पहलकदमी आवश्यक रहेको धारणा व्यक्त गरे । २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी १५ जनवरी २०१५ मा शिलान्यास भएको विमानस्थल पटक–पटक समय थप्दै ६ वर्ष बितिसक्दा पनि अझै निर्माण पूरा हुन सकेको छैन ।


संघले अब समय थप गर्नेभन्दा पनि पछिल्लो पटक थप भएको समयसीमाभित्रै सञ्चालनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । केही दिनअघि रूपन्देहीका सभासद् एवं गृहमन्त्री बालकृण्ण खाँणले पनि विमानस्थलबारे जानकारी लिएका थिए ।