close

जडीबुटी बेचेर थैली भर्दै जुम्ली

जडीबुटी बेचेर थैली भर्दै जुम्ली

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाबाट २० टन जडीबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा यहाँका ८ स्थानीय तहमा संकलन भएको २० टनभन्दा बढी जडीबुुटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको हो ।

 

डिभिजन वन कार्यालका सूचना अधिकारी खड्कबहादुर महतले जुम्लामा पाइने जडीबुटी स्थानीयको आयआर्जनको स्रोत बनेको बताए । उनले भने, ‘जडीबुटी संकलन र बिक्री वितरण गरी यहाँका नागरिकको जीविकोपार्जन हुने गरेको छ ।’ 

 


एक नगरपालिका एवं सात गाउँपालिकामध्ये तातोपानी, गुठीचौर र पातारासी पालिकाका विभिन्न पाटनमा सबैभन्दा धेरै जडीबुटी पाइन्छ । विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी संकलन हो । 

 

यहाँका पाटनमा जिल्लाभरिका नागरिक जाने गर्छन् । कोरोना कहरका बीच पनि जडीबुटी संकलनबाट राम्रो आम्दानी हुने गरेको स्थानीय बताउँछन् । डिभिजन वन कार्यालय जुम्लाको तथ्यांकअनुसार कोरोना महामारीकै बीचमा विभिन्न २० प्रकारका २० टन २ सय क्विन्टल जडीबुटी संकलन तथा निर्यात भएको छ । यसमा सबैभन्दा बढी धुपी साढे २ टन निर्यात भएको हो ।

 

त्यसैगरी सेतक चिनी साढे २ टन, चिराइतो ९ क्विन्टल, तीतेपाती साढे २ टन, सुनपाती ३ टन, पाखनबेद साढे २ टन, सुगन्धवाला (सुमायो) १ टन ५ क्विन्टल निर्यात भएको सूचना अधिकारी महतले बताए ।


यहाँका ७३ जना व्यापारीले यसपटक जडीबुटी निर्यात गरेका हुन् । डिभिजन वन कार्यालयका अनुसार जडीबुटी बिक्रीबाट ४० लाख रुपैयाँ राजस्व संकलन भएकोे छ । 


यसमा जडीबुटी संकलनबापत २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरणबापत १० लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यार्साबाट १२ लाख ३० हजार, सेतक चिनीबाट ४ लाख २० हजार, विषजराबाट १ लाख ४१ हजार र धुपीबाट ७० हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी महतले बताए ।

 

कालादानाबाट ५५ हजार ३ सय, रातो च्याउबाट ५५ हजार, पाखनवेदबाट १ लाख ८६ हजार, वन लसुनबाट २० हजार ५ सय, पदमचालबाट १७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । 

 

जुम्ला जडीबुटीको सम्भावनायुक्त जिल्ला हो । यहाँका केही किसानले आफ्नै खेतबारीमा व्यावसायिक रूपमा जडीबुटी खेती गर्न थालेका छन । पाटन क्षेत्रमा पाइने जडीबुटी जुम्लाबासीको राम्रो आम्दानीको स्रोत बनेको छ । कोभिड संक्रमणको त्रास फैलिइरहेका बेला यहाँका नागरिकले पाटनमै बसेर जडीबुटी संकलन गरेका हुन् । ‘कोभिडका कारण जताततै निषेधाज्ञा भएपछि आयस्रोत जुटाउने उपाय भएन, ‘स्थानीय पदमबहादुर बुढाले भने, ‘एक मात्र विकल्प जडीबुटी बन्यो ।’