close

मल कारखाना खोल्ने नाममा अनावश्यक खर्च नगर्न महालेखाको सुझाव

मल कारखाना खोल्ने नाममा अनावश्यक खर्च नगर्न महालेखाको सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले दीर्घकालीन लागत–लाभ विश्लेषण गरी रासायनिक मल कारखाना स्थापना गर्ने÷नगर्नेबारे चाँडो निर्णय लिन सरकारलाई सुझाएको छ ।


सर्भेक्षण र अनुसन्धानका नाममा मोटो रकम खर्च गरेर पनि सरकारले निर्माणको ठोस प्रस्ताव तयार पार्न नसकेको भन्दै मलेपले रासायनिक मल कारखाना स्थापनाबारे निष्कर्षमा पुग्न सुझाएको हो ।


महालेखा परीक्षक कार्यालयको ५८औँ कार्यमूलक लेखा परीक्षण प्रतिवेदनअनुसार सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भएको ४ वर्षसम्म पनि यसबारे ठोस निर्णय नहुनुले सर्भेक्षण र अनुसन्धानका नाममा बर्सेनि व्ययभार थपिँदै गएकोतर्फ सरकारलाई सचेत गराइएको छ ।


लगानी बोर्डले भारत कर्नाटकको एक परामर्शदाताको सहयोगमा सन् २०१४ बाट सुरु गरेर २०१७ मा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको थियो ।


प्रतिवेदनले प्राकृतिक ग्यासमा आधारित युरिया मल कारखानाका लागि १ सय १५ मेगावाट बिजुली, प्रतिदिन १ हजार १ सय ९७ मेट्रिक टन प्राकृतिक ग्यास र ४ सय हेक्टर जमिन आवश्यक पर्ने तथ्य औँल्याइसकेको अवस्थामा बर्सेनि हुने सर्भेक्षण र अनुसन्धान अन्त्य गरी यसबारे चाँडो निष्कर्षमा पुग्न मलेपले सरकारको ध्यानाकर्षण गरेको हो ।

 

तत्कालीन अवस्थामा आयोजनाको कुल लागत ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको मलेपले भनेको छ । उसका अनुसार लगानी बोर्डको अध्ययन प्रतिवेदनले यो लागतबाट तयार भएको कारखानाबाट वार्षिक उत्पादन क्षमता करिब ७ लाख मेट्रिकटन युरिया रहने भनिएको थियो ।

 

सार्वजनिक/निजी/साझेदारी वा निजी लगानीमार्फत विकास गर्न सकिने यो आयोजनाका लागि जग्गा प्राप्ति, आवश्यक कानुुनी व्यवस्थाको तयारी र अनुगमनको जिम्मेवारी नेपाल सरकारलाई, योजना, डिजाइन, लगानी, निर्माण र सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिन उपयुक्त हुने सम्भाव्यता अध्ययन प्रतिवेदनमा सिफारिस गरिएको थियो । 

 

कारखाना स्थापनाका लागि धनुषाको ढल्केबर, उदयपुरको जलजले र नवलपरासीको बर्दघाटमध्ये अध्ययन प्रतिवेदनले ढल्केबरलाई उपर्युक्त स्थानको रूपमा सुझाएको थियो ।

 

सो प्रतिवेदनमा प्राकृतिक ग्यासमा आधारित कारखानाका लागि ६९ अर्ब, कोइलामा आधारित कारखानाका लागि ९३ अर्ब र इलेक्ट्रोलाइसिसमा आधारित कारखानाका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ लागत लाग्ने उल्लेख गरिएको मलेपले भनेको छ ।

 

प्रतिवेदनले प्राकृतिक ग्यासमा आधारित कारखाना स्थापनाको लागत अरूभन्दा सस्तो पर्ने देखाएको थियो । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको १ सय २३ नम्बर बुँदामा रासायनिक मल तथा प्रांगारिक मल कारखाना सरकारी, निजी र सहकारीको साझेदारीमा स्थापना गर्ने उल्लेख थियो । 

 

तर, बजेट आएको करिव ५ वर्ष बित्दा पनि मल कारखाना स्थापना हुन नसक्नुलाई मलेपले दुःखद् भनेको छ । चालू आर्थिक वर्षका लागि गत १५ जेठमा प्रस्तुत बजेट वक्तव्यको १ सय नम्बर बुँदामा सरकारले ३ वर्षभित्र रसायनिक मल कारखाना स्थापना गर्ने गरी प्रारम्भिक काम गर्न बजेट छुट्याएको भन्दै मलेपले अब सर्भेक्षण र अनुसन्धानका नाममा बजेट खर्च नगरी पहिलाको प्रतिवेदनलाई आधार मानेर लागत तयार पारी कारखाना स्थापना गर्ने वा नगर्ने निष्कर्षमा पुग्न भनेको छ । 

 

लगानी बोर्डले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार रासायनिक मल कारखाना स्थापना भई सञ्चालनमा आएपछि रासायनिक मलको माग देशभित्रै पूरा भई आयात प्रतिस्थापन हुने, समयमै मलको उपलब्धता भई बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि हुने, स्वदेशमै रोजगारी सिर्जना, सीप र क्षमताको विकास हुने र अन्य मुलुकमा निर्यात गरी व्यापार घाटा कम हुने अपेक्षा गरिएको थियो । 

 

मलेपले प्रतिवेदन प्राप्त भएको ४ वर्ष बित्न लाग्दा पनि लगानी बोर्डले यसबारे सञ्चारकर्मीलाई जानकारी गराउन र सरोकारवाला निकायसँग आयोजना कार्यान्वयनका लागि छलफल राख्ने कार्यमा मात्र आफूलाइ सीमित गराएको भन्दै मलेपले सरकारलाई कि मल कारखाना उद्योग स्थापना प्रक्रिया अघि बढाउन, कि यो प्रक्रियाबाट अलग हुन वा सर्भेक्षण र अनुसन्धानका नाममा थप खर्च नगर्न सुझाएको छ ।