close

बैतडीका १० वटै स्थानीय तहमा बेरुजुको चाङ

बैतडीका १० वटै स्थानीय तहमा बेरुजुको चाङ

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीका १० वटै स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको पाइएको छ । बैतडीका सबै स्थानीय तहमा प्रत्येक बर्ष बेरुजु रकम बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो ।


बैतडीका स्थानीय तहको बेरुजु रकम साढे ३२ करोड रुपैयाँ बढी देखिएको छ । महालेखाको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनअनुसार बैतडीका १० वटा स्थानीय तहको बेरुजु रकम ३२ करोड ६३ लाख ७ हजार रुपैयाँ छ । 


महालेखाले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनअनुसार बैतडीका स्थानीय तहमा सबभन्दा बढी बेरुजु डिलासैनी गाउँपालिका र सबभन्दा कम बेरुजु पाटन नगरपालिकाको छ । 


डिलासैनी गाउँपालिकाको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार रकम बेरुजु छ, जुन ६ दशमलव २ प्रतिशत हो ।


यस्तै, कम बेरुजु देखिने पाटन नगरपालिकाको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार बेरुजु छ, जुन १ दशमलव ४३ प्रतिशत हो । 


पालिकामध्ये सबैभन्दा कम बेरुजु हुने दोगडाकेदार गाउँपालिका रहेको छ । दोगडाकेदारमा १ अर्ब २ करोड ७१ लाख ३२ हजारको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार रुपैयाँ बेरुजु देखिएको छ । 


दशरथचन्द नगरपालिकाको १ अर्ब ४० करोड ८१ लाख ४३ हजारको लेखा परीक्षण गर्दा ४ करोड ५५ लाख १ हजार बेरुजु रहेको छ । सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ । ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार रुपैयाँ बेरुजु देखिएको हो । 
शिवनाथ गाउँपालिकामा ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकामा ४ दशमलव ८४ प्रतिशत अर्थात् २ करोड ९० लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।


पञ्चेश्वर गाउँपालिकाको ४ दशमलव ५१ प्रतिशत अर्थात् ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु छ । सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार रुपैयाँ बेरुजु छ ।