close

बुटवल उवासंघको सल्लाहकारसभा : व्यावसायिक वातावरण बनाइदिन उद्योगीको आग्रह

बुटवल उवासंघको सल्लाहकारसभा : व्यावसायिक वातावरण बनाइदिन उद्योगीको आग्रह

Trulli
ADVERTISEMENT

रूपन्देही– निजी क्षेत्रका उद्योगी व्यवसायीले औद्योगिक तथा व्यावसायिक वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । कोरोना महामारीले पूर्वाधार निर्माणमा भएको ढिलाइ, व्यवसायमैत्री वातावरण अभावलगायत कारण निजी क्षेत्रका उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ ।


उद्योगी, व्यवसायीले सरकारलाई निजी क्षेत्रमैत्री नीति र सोहीअनुसारको व्यावसायिक वातावरण बनाइदिन आग्रह गरे ।  उद्योगी, व्यवसायीले मुलुकमा लगानी वातावरण अभाव भइरहेका बेला कोरोना महामारीले थप जोखिममा परेको गुनासो गरे ।राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्नको लागि पनि मुलुकमा व्यावसायिक वातावरण अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।


कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । आयात प्रतिस्थापनका लागि प्रतिस्पर्धी वस्तुको उत्पादनमा जोड दिन उनले उद्योगी, व्यवसायीलाई सुझाए । सरकारले सीमा खुलाउने घोषणा गरेपछि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रमुख जिल्ला अधिकारी तिवारीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा संघले महत्त्वपूर्ण भूमिका खेलेको र सरकारको महत्त्वपूर्ण साझेदारको रूपमा रहेको भन्दै प्रशंसा गरे ।


संघ अध्यक्ष उज्ज्वलप्रसाद कसजुले विषयगत उद्योगी, व्यवसायीका समस्या पहिचान गर्न सहज होस् भनेर वस्तुगत समिति गठन गरिएकाले यो समितिले दिएका सुझावअनुसार समस्या समाधानका लागि संघले बहस पैरवी गरी व्यावसायिक विकासका कार्यक्रम सञ्चालन गर्ने जानकारी गराए । 


उनले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको ढिलाइ, व्यावसायिक वातावरण अभावलगायतले उद्योगी व्यवसायी मारमा परेको बताए । सरकारले ४० माइक्रोनभन्दा कमको प्लास्टिक उत्पादन, आयात निर्यात तथा बिक्री वितरणमा रोक लगाएका कारण सम्बन्धित उद्योगी समस्यामा परेकाले समस्या समाधानका लागि सरकारसँग आग्रह गरे ।


 
उक्त अवसरमा संघको सहयोगमा सिद्धार्थ बाल तथा महिला अस्पतालमा आइसियु कोभिड वार्ड निर्माणमा आर्थिक सहयोग गर्नेलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । संघको सहयोगमा आम्दा अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कोभिड वार्ड स्थापना गरिएको छ । 

 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्वअध्यक्ष नवराज श्रेष्ठ, उद्योग वाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारीलगायतले उद्योग तथा व्यावसायिक क्षेत्रमा भएका समस्या उठान गर्दै मुलुकको अर्थतन्त्र सुदृढ गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए ।


कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले खुला सीमामा कडाइ गर्नुपर्ने, कोरोना महामारीको जोखिम कायमै रहेकाले उद्योगी व्यवसायी तथा कामदार कर्मचारीलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध मिलाउनुपर्ने, बुटवल ज्योतिनगरको पहिरो सिंगो बुटवलकै जोखिमको रूपमा खडा भएकाले दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरे ।