close

बुटवलले पायो उत्कृष्ट नगरको अवार्ड 

बुटवलले पायो उत्कृष्ट नगरको अवार्ड 

Trulli
ADVERTISEMENT

रूपन्देही– लगानी र व्यावसायिक वातावरण निर्माणमा बुटवल उपमहानगर मुलुककै पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवलले उत्कृष्ट स्थान प्राप्त गरेको हो । जर्मन सहयोग नियोग (जीआइजेड) ले विषयगत विज्ञमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । 

 

देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रूपमा विकास भइरहेका ११ वटा नगरलाई छनोट गरी त्यहाँको लगानी अवस्था, वातावरण र व्यवसाय क्षेत्रबारे सूचक बनाएर सर्वेक्षण गरिएको जीआइजेडका नेसनल टिम लिडर दीप्ति खकुरेलले बताए । 

 

स्थानीय स्तरमा रोजगारी सिर्जनाको अवस्था, नयाँ लगानीका क्षेत्र, विद्यमान लगानी अवस्था र नयाँ वातावरण निर्माण, उद्यामीशलताको विकास, जीविकोपार्जनमा सहजता ल्याउन गरिएका प्रयासलाई मूल्यांकनको आधार बनाई सर्वेक्षण गरिएको जीआइजेडले जनाएको छ ।

 

सोही मूल्यांकनका आधारमा बुटवल मुलुकमै पहिलो भएको हो । जीआइजेडले बुटवललाई लगानीमैत्री र व्यावसायिक वातावरणमा मुलुकमै उत्कृष्ट नगरका रुपमा अवार्ड प्रदान गरेको छ ।

 

उपमहानगर प्रमुख शिवराज सुवेदीलाई जीआइजेडका नेसनल टिम लिडर खकुरेलसहितको जीआइजेडको टोलीले प्रमाणपत्र र अवार्ड प्रदान गरेको थियो । स्थानीय लघु, साना तथा मझौला उद्योग व्यवसायको अवस्था, सुधारका साथै यसका सेवाप्रदायकको बिक्रीपछिको सेवा सुनिश्चितता र लगानी वातावरणबारे विज्ञहरूले सर्वेक्षण गरेका थिए । 

 

सोही आधारमा व्यावसायिक वातावरण सर्वेक्षण (बिजनेस क्लाइमेट सर्वे) २०२०÷२०२१ को नतिजा प्रकाशन गरी अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख सुवेदीले बुटवलले यसअघिको आर्थिक विकास रणनीतिलाई पुनरवलोकन गर्न लागेको र लगानीमैत्री वातावरण बनाउन नयाँ रणनीति बनाइरहेको जानकारी दिए ।

 

समृद्ध बुटवल र खुसी नगरबासीको लक्ष्यअनुरूपका काममा सार्वजनिक र निजी साझेदारीमार्फत सहकार्यका लागि आग्रह गरे । जीआइजेडले बुटवलसँग साझेदारी गर्दै आएको छ । आर्थिक सम्बन्ध विस्तार गरी लगानी प्रोत्साहन गर्ने गरी बुटवलका योजना केन्द्रित भएको प्रमुख सुवेदीले बताए । 

 

बुटवलले आवधिक र सहरी विकास गुरुयोजनासहितको दीर्घकालीन महत्त्वका योजना बनाएर सोहीअनुसार काम अगाडि बढाएको छ । यिनै कामको आधार, व्यवसायमा भएको लगानी अवस्था, लगानीका नयाँ क्षेत्रको पहिचान र वातावरण, रोजगारी अवस्था, नयाँ रोजगारीका क्षेत्रको विकासलगायतको अवस्था मूल्यांकन गरिएको थियो । 

 

बुटवलमा भएको रोजगारीको अवस्था, साना तथा मझौला व्यवसायको क्षेत्र र तिनमा कार्यरत एवं आश्रितको अवस्थालगायतका विषयमा पनि सर्वेक्षण भएको थियो ।


बुटवलमा करदातालाई प्रोत्साहन, हजारौँले लिए छुट

 

करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको बुटवल उपमहानगरले कर छुटका विभिन्न व्यवस्था ल्याएपछि हजारौँ करदाता लाभान्वित भएका छन् ।
उपमहानगरमा निर्वाचित प्रतिनिधि आएपछि गत तीन आर्थिक वर्षयता बढिरहेका कर दातालाई प्रोत्साहन गर्न कर छुटका विभिन्न व्यवस्था ल्याएको थियो । 

 

विगत चार आर्थिक वर्षमा २३ हजार ४ सय ३ जनाले व्यवसाय कर, ७० हजार ८ सय १९ जनाले सम्पत्ति कर र १२ हजार २ सय ८ जनाले घर वहाल करमा १० देखि २५ प्रतिशतसम्म छुट लिइसकेको उपमहानगरको तथ्यांक छ ।

 

उक्त अवधिमा व्यवसाय करमा १० प्रतिशत छुट लिने १५ हजार ६ सय ४५ जना छन् भने २५ प्रतिशत छुट लिने ६ हजार २ सय ६५ जना रहेका छन् । त्यस्तै, सम्पत्ति करमा उपमहानगरले विभिन्न अवधिमा १० र १५ प्रतिशत कर छुट दिएको छ । १० प्रतिशत कर छुट लिने कर दाता ४८ हजार ७८ जना रहेका छन् भने १५ प्रतिशत कर छुट लिने २२ हजार १ सय ४१ जना छन् ।

 

त्यस्तै, वहाल करतर्फ १० प्रतिशत कर छुट लिनेको संख्या ८ हजार ४ सय ३६ रहेको उपमहानगर प्रवक्ता रामप्रसाद रेग्मीले बताए । २५ प्रतिशत कर छुट लिनेमा ३ हजार ७ सय ७२ जना छन् ।

कोभिड महामारीमा उपमहानगरले आर्थिक बर्ष २०७७/७८ मा सबै खाले करमा छुट दिएको थियो । उक्त आवमा व्यवसाय करमा २५ प्रतिशत, सम्पत्ति करमा १५ प्रतिशत र घर वहाल करमा २५ प्रतिशत कर छुट दिएको थियो ।

 

व्यवसाय कर, घर वहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा ५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
तर, कर दाता महिला, अपांगता र यौनिक अल्पसंख्यक भए तिनलाई सम्पत्ति कर, व्यवसाय कर र घर वहाल करमा थप ५ प्रतिशत छुट व्यवस्था गरेको राजस्व शाखाका अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए ।