close

प्रदेश १ मा विद्युत् अवरोध हट्यो 

३८ घन्टापछि सञ्चालनमा आयो दुहबी सब–स्टेसन 

प्रदेश १ मा विद्युत् अवरोध हट्यो 

३८ घन्टापछि सञ्चालनमा आयो दुहबी सब–स्टेसन 

Trulli
ADVERTISEMENT

काठमाडौं– अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सब–स्टेसन ३८ घन्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राती साढे ८ बजेबाट बन्द भएको दुहबी सब–स्टेसन पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो । 


‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीयलगायतको सहयोगबाट सब–स्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौँ’, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब दुहवी सब–स्टेसनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौं ।’ 


प्रदेश १ का जिल्लामा विद्युत् आपूर्ति गर्ने मुख्य दुहवी सब–स्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा विद्युत् आपूर्ति बन्द भएको थियो । 


सब–स्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत् आपूर्ति सुचारु भइसकेको प्राधिकरणले जनाएको छ । उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सब–स्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहवी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सब–स्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ । 

 

अत्तरिया–चमेलिया प्रसारण लाइन पनि सञ्चालनमा 


वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली–चमेलिया दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको हो । प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश भागमा विद्युत् आपूर्ति सुचारु भएको छ ।