close

नमोबुद्धको वार्षिक समीक्षा : एक वर्षमा सम्पन्न भए ५०२ योजना

नमोबुद्धको वार्षिक समीक्षा : एक वर्षमा सम्पन्न भए ५०२ योजना

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले एक वर्षे अवधिमा ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा तय भएका ५९९ वटा योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० अर्थात् ५०२ वटा योजना र कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । बिहीबार गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक समीक्षा गर्दै नगरपालिकाले उक्त आर्थिक वर्षमा भए÷गरेका कामको विवरण सार्वजनिक गरेको हो । 


कार्यक्रममा एक वर्षमा भएका कामको विवरण सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गत आर्थिक वर्षमा ७४ करोड ३१ लाख २८ हजार २ सय ७० रुपैयाँ विनियोजित बजेटमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात् ६२ करोड ९४ लाख १४ हजार ८ सय ७२ खर्च भएको बताए ।

 

चालूतर्फ ४० करोड ७९ लाख १४ हजार ४ सय ३ रुपैयाँ विनियोजन गरिएकामा ३६ करोड १२ लाख ८३ हजार ९ सय ४ खर्च भएको छ । यो चालूतर्फको कुल बजेटको ८८ दशमलव ५६ प्रतिशत हो ।

 

यस्तै, पुँजीगततर्फ ३३ करोड ५२ लाख १३ हजार ८ सय ६७ रुपैयाँ बजेट विनियोजन भएकोमा ८० दशमलव ०८ प्रतिशत अर्थात् २६ करोड ८४ लाख ५१ हजार ९ सय ६७ खर्च भएको पौडेलले जानकारी दिए ।

 

कोभिड महामारी, संघ तथा प्रदेशबाट प्राप्त योजना अघि बढ्न नसक्नुलगायत कारण योजना सञ्चालनमा कठिनाइ भएकाले सबै बजेट खर्च हुन नसकेको उनको भनाइ छ ।

 

वडागत रूपमा २७० योजनामध्ये ८२ दशमलव ९६ प्रतिशत अर्थात् २२४ वटा योजना सम्पन्न भएका छन् । नमोबुद्धका ११ वटामध्ये वडा नम्बर ४ ले शतप्रतिशत योजना सम्पन्न गरेको छ । उक्त वडामा २४ वटा योजनामा बजेट विनियोजन भएकामा सबै योजना सम्पन्न भएका हुन् । 

 


नगरपालिकाले ६ करोड राजस्व संकलनको अनुमान गरेकामा ४ करोड १४ लाख २६ हजार ४ सय ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । कोभिडले कतिपय क्षेत्रमा राजस्व छुट दिनुपरेकोलगायत कारण अनुमानभन्दा कम राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।  गत आर्थिक वर्षमा नमोबुद्धको न्यायिक समितिमा १३ उजुरी परेकामा ९ वटाको फैसला भएको छ भने ५ वटामा मिलापत्र भएको छ । यस्तै, हालसम्म ६८ वटा कानुन निर्माण भएको जानकारी कार्यक्रममा दिइयो । 

 

नगरपालिकाले गत आर्थिक वर्षको उपलब्धिका रूपमा कोभिड रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण सफलता हासिल गर्नुलाई लिएको छ । कोभिड रोकथाम तथा नियन्त्रणको क्रममा आइसोलेसन स्थापना गरी १७८ जनाको उपचार गरिएको थियो भने एक वर्षमा ७१३ जनाको स्वाब संकलन गरी पठाइएको र ९२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

 

यस्तै, गत आर्थिक वर्षमै मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको, दाप्चा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा स्तरोन्नति गरिएको, सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार र औलोको परीक्षण सुरु गरिएको, महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

 

गत आर्थिक वर्षमै ४ हजार मिटर पक्की ड्रेन निर्माण गरिएको, ४ वटा कल्भर्ट निर्माण गरिएको, ७ हजार मिटर ग्राभेल गरिएको छ भने ६ सय मिटर सडक कालोपत्रे गरिएको छ । नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले आफूहरू कार्यकालको अन्तिम वर्षमा आइपुगेको र जनअपेक्षाअनुसार धेरै हदसम्म पूर्वाधार विकास गरिएको दाबी गरे ।

 

आफूहरूको कामको समीक्षा नगरबासीबाटै हुने हुँदा उनले नगरको विकासको जग बसालिएको र आगामी दिनमा यसले समृद्ध नगर निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त ।  उनले नगरपालिकाले ५ वर्षे, १० वर्षे, १५ वर्षे रणनीतिक योजना निर्माण गर्दै समृद्ध नगरको अभियानलाई अघि बढाइरहेको बताए ।

 

उपप्रमुख रामदेवी तामाङले भौतिक पूर्वाधार विकासलाई विशेष जोड दिँदै वडा कार्यालय, स्वास्थ्य संस्था, सडक, खानेपानी आयोजनाका काम भइरहेको जानकारी दिइन् । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिले नगरपालिकाले गरेका कामका विषयमा आफ्ना धारणा र सुझाव पेस गरेका थिए । कार्यक्रम प्रशासकीय अधिकृत विनोद रसाइलीले सञ्चालन गरेका थिए ।