close

भरतपुर महानगरको नगरसभाबाट ४८ करोड ६० लाख बजेट अनुमोदन

भरतपुर महानगरको नगरसभाबाट ४८ करोड ६० लाख बजेट अनुमोदन

Trulli
ADVERTISEMENT

चितवन– भरतपुर महानगरपालिकाको दशौँ नगरसभा  सम्पन्न भएको छ । नगरसभाले  ४८ करोड ६० लाख बजेट अनुमोदनसँगै प्रज्ञा प्रतिष्ठान विधेयक पारित गरेको हो ।


 
सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयको अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले स्रोतसाधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताइन् । केही योजना सम्पन्न हुने चरणमा रहेको उनको भनाई छ । महानगरले अन्य पालिकाको तुलनामा धेरै गर्न सकेको भन्दै यसमा साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद दिइन् ।


 
सङ्घ र प्रदेशको सहकार्यमा ठूला आयोजना अघि बढेको दाहालको भनाइ थियो । पाँच वर्षको अवधिमा महानगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले महत्वपूर्ण आयोजनाको बारेमा जानकारी गराइन् ।  पार्वती शाह ठकुरीले भौतिक निर्माणमा महानगरले उल्लेखनीय काम गरेको बताइन् । उनले भौतिकसँगै रोजगारी सिर्जना, महिला विकास, शिक्षा, स्वास्थ्य जस्ता विषयमा महानगरले काम गर्न सकेको जानकारी दिइन् । सबैको साथ, सहयोग र समन्वयमा महानगरको समग्र विकास सम्भव भएको उनको भनाइ छ ।


 
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडाध्यक्ष चित्रसेन अधिकारी, हरि आचार्यलगायतले बोलेका थिए । 


 
नगरसभाले  ४८ करोड ६० लाख बजेट पारित गरेको छ । सो अवसरमा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान विधयेक २०७८ पारित गरियो । भाषा, साहित्य, संस्कृति र कला संरक्षण गर्दै मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्न विधेयक ल्याइएको बताइएको छ । सोही अवसरमा ४५ जना कर्मचारीलाई नगद पाँच  हजारसहित सम्मान गरिएको थियो ।