close

कोरोनापछिको उड्डयन क्षेत्र 

कोरोनापछिको उड्डयन क्षेत्र 

Trulli
ADVERTISEMENT

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावितमध्ये उड्डयन क्षेत्र पनि हो । हवाई उडानजस्तो अत्यावश्यक सेवा ८ महिनाभन्दा बढी समय पूर्ण रूपमा बन्द गरेर बस्नुको पीडा सायदै अन्य व्यवसायमा परेको होला । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जसरी लकडाउनका माध्यमबाट लामो समयसम्म सबैखाले सेवा बन्द गर्‍यो , यसले हाम्रो अर्थतन्त्र र त्यसमा पनि पर्यटन क्षेत्रमा ठूलो असर गर्‍यो  ।


लकडाउनले दिएको पीडाबाट अझै पनि कतिपय क्षेत्र मुक्त हुन नसकेको अवस्था छ । यद्यपि आन्तरिक हवाई उडानको हकमा भने त्यो अवस्था छैन भन्न सकिन्छ । सम्भवतः कोरोना महामारीका कारण सबैभन्दा प्रभावितमध्येको उड्डयन क्षेत्र यति छिटो रिभाइभ हुनु भनेको आफैँमा राम्रो संकेत पनि हो । होटल अझै पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन्, उद्योग कलकारखाना पूर्ण रूपले सञ्चालन हुन नसकेको अवस्थामा एभिएसन मात्रै यस्तो एउटा क्षेत्र हो। जसले अति प्रभावित भईकन पनि रिभाइभको चरण पार गरिरहेको छ । 

 

कोरोनाको पीडा


कोरोना महामारीका कारण सिर्जित लकडाउन तथा निषेधाज्ञाको समय विमान तथा विमानस्थलको पार्किङमा हेलिकोप्टर घामै तापेर बस्न बाध्य भए । एकाध हेलिकोप्टर उद्दार कार्यमा संलग्न भए पनि त्यसले सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था थियो । विमानको हकमा त त्यो क्षण निकै पीडादायी भइदियो ।


अवस्था केही सहज हुँदा मानिस सडक मार्ग हुँदै १०औँ हजार रुपैयाँ तिरेर असुरक्षित यात्रा गरिरहेका बेला तुलनात्मक रूपमा सुरक्षित भनिएको हवाई उडानका लागि सरकारले चासो नदेखाउनु आफैंमा आश्चर्यको विषय थियो । हामीले बारम्बार हवाई उडान खुला गर्नुपर्छ भन्दा समेत त्यसतर्फ सरकारले कत्ति पनि ध्यान दिएन । बरु ८ महिनाभन्दा बढी समयसम्म पूर्ण रूपमा बन्द गर्न बाध्य पारियो । तर, जब कोरोना महामारीको दोस्रो लहरमा लकडाउन/निषेधाज्ञा जारी भयो, त्यो बेलामा २ महिना मात्रै बन्द गर्दा पुग्ने भयो । यही सोच पहिलो चरणमै आइदिएको भए सायदै कोरोनाको पीडा यति धेरै हुने थिएन ।


यसबीच उड्डयन क्षेत्रले अर्बौं रुपैयाँ गुमाएको छ । बुद्ध एयरले मात्रै १ अर्ब रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ । सेवा सञ्चालन हुन नसकेको अवस्थामा पनि १ हजारभन्दा बढी कर्मचारीलाई नियमित तलब दिएर टिकाइराख्नु आफैंमा चुनौतीपूर्ण अवस्था थियो । त्यसबाहेक विमान नचल्दा बढ्दै गएको खर्चले घाटा चुलिँदो थियो ।


कोरोनाको असर विदेशी मुलुकमा पनि भएकाले विदेशबाट मानिस यहाँ आउन नसक्दाको घाटा त छँदै थियो, त्यसमाथि आन्तरिक हवाई उडान बन्द हुँदाको असरले अझ मर्कामा पारेको थियो ।


रिभाइभको चरण


जब हवाई उडान खुले, तब हामीसँग भविष्यलाई लिएर अनिश्चितता थियो । अब सहज रूपमा चल्छ भन्ने विषयमा विश्वस्त हुन सक्ने अवस्था थियो । अन्तर्राष्ट्रिय हवाई उडान बन्दजस्तै हुँदा आन्तरिक हवाई उडानले घाटा पूर्ति गर्न सक्छ भन्नेमा पूर्ण रूपमा विश्वास थिएन । यद्यपि आशा थियो । हामीले कोरोना महामारीको पहिलो लकडाउनपछि नै आक्रामक रूपमा व्यवसाय बढाउने योजना बनाएका थियौँ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रचार–प्रसार गरेका थियौँ भने रकम पनि खर्चेका थियौँ । तर, पहिलो लकडाउन सकिँदा नसकिँदै कोरोनाको दोस्रो लहरले व्यवसायलाई गति लिन दिएन । अवरोध गर्‍यो । यद्यपि आन्तरिक हवाई उडानमा यात्रुको चाप दिनप्रतिदिन बढ्दै गयो ।


अहिलेको अवस्था


कोरोनाले दिएको असरबाट आजका दिनमा एभिएसन क्षेत्र रिभाइभ भइसकेको अवस्था हो । बुद्ध एयरको हकमा भन्ने हो भने हामीले राम्रो पिकअप लिएका छौँ । कोरोना महामारीभन्दा अघि हामीले औसतमा ४५ सय यात्रुलाई दैनिक सेवा दिइरहेका थियौँ । जसमा एक तिहाइ यात्रु भारतीय वा अन्य मुलुकका हुन्थे । तेस्रो मुलुकका पर्यटकसँग लिइने डलरमा हुने आम्दानीको हिस्सा ठूलो थियो । कोरोना महामारीपछिको अवस्थामा विदेशी पर्यटक सहजरू पमा आउन सकेको अवस्था छैन । तर, अबको केही महिनापछि नेपाल आउने विदेशी पर्यटकको संख्या ठूलो हुनेमा पनि उत्तिकै आशा गर्न सकिने अवस्था छ ।


कोरोना महामारीभन्दा अघिको अवस्थाको तुलनामा आजका दिनमा करिब दोब्बर संख्यामा दैनिक यात्रुलाई सेवा दिन सक्ने अवस्थामा पुगेका छौँ । हिजोका दिनमा आन्तरिक हवाई उडानको हकमा सबै विमान कम्पनीले ६ हजारदेखि ८ हजार यात्रुलाई सेवा दिइरहेका थिए भने आजका दिनमा १४ हजारदेखि १५ हजार यात्रुले एकै दिन सेवा पाउने अवस्था आएको छ । विदेशी पर्यटक नहुँदा पनि यो अवस्था आउनु भनेको यो क्षेत्रका लागि निकै राम्रो अवसर हो ।


हिजोका दिनमा बुद्ध एयरको हकमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी घाटा भइरहेको थियो भने त्यो घाटा पूर्ति नभए पनि अब हामी सहज अवस्थामा आइसकेका छौँ । अर्थात्, रिभाइभको चरण पार गरिसकेका छौँ । कोरोना महामारीपछि हामीले ३ सयभन्दा बढी जनशक्ति थप गरिसकेका छौँ । हामीहरू अझ प्रादेशिक तहमा आक्रामक रूपमा जाने भनिरहँदा अझै जनशक्ति कम्पनीमा थपिन्छन् ।


अबको भविष्य


२०४६ पछि जब आन्तरिक हवाई उड्डयन क्षेत्रमा निजी क्षेत्रको प्रवेश भयो । त्यसयता जे–जति विकास भएको छ,  त्यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ । निजी क्षेत्रको प्रवेशपछि नै कैयन स्थानमा विमानस्थल निर्माण हुन थालेका हुन् । यात्रुले सहज रूपमा सेवा पाउनुमा निजी क्षेत्रको योगदान निकै ठूलो छ ।


विभिन्न गन्तव्यमा निजी विमान कम्पनीले व्यावसायिक उडान गर्न सुरु गरे भने गन्तव्यको संख्या पनि बढ्दै गयो । पछिल्लो समय प्रादेशिक रूपमा पनि हवाई उडानको संख्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरासँग भैरहवा, भरतपुर, नेपालगञ्जलगायतका गन्तव्यमा दैनिकजसो उडान भइरहेको अवस्था छ भने अन्य गन्तव्यमा पनि उडानको संख्या बढ्दो क्रममा छ ।


केही वर्षअघिसम्म विदेशी यात्रुकै भर पर्दै आए पनि अहिले आन्तरिक उडानमा त्यो समस्या छैन । हिजोका दिनमा आम्दानीको स्रोतमा विदेशी यात्रु पनि पर्दथे भने आजका दिनमा आइपुग्दा अब त्यो हाम्रा लागि बोनस हुनेछ ।


पछिल्लो समय जसरी आन्तरिक हवाई यात्रु बढिरहेका छन् । त्यसको कारण टिकट मूल्य सस्तो हुनु पनि एक हो । त्यसबाहेक नागरिकको आयस्तर बढ्नु, यात्रा सहज हुनु र पहुँच पनि बढ्नु हो । बुद्ध एयरको हकमा हेर्ने हो भने सन् १९९७ देखि सन् २०२१ सम्म आइपुग्दा हवाई भाडामा ६० प्रतिशतले मात्रै बढेको छ । यसबीचमा मुद्रास्फीति ३०० प्रतिशतले बढेको छ, तलबमान ६०० प्रतिशतले बढेको छ । डलरको भाउ १२० प्रतिशतले बढेको छ भने इन्धनको मूल्य १५० प्रतिशतले बढेको अवस्थामा पनि हामीले औसतमा १२ सय रुपैयाँले मात्रै भाडादर बढाएका छौँ । यसको अर्थ हामीहरू घाटामा छौँ भन्ने होइन, फाइदामै छौँ । यो सबै निजी क्षेत्रको आक्रामक व्यवसायबाट सिर्जित प्रतिस्पर्धात्मक बजारका कारणले सम्भव भएको हो । 


कोरोनापछिको अवस्थालाई हेर्ने हो भने हामीले १५ महिनामध्ये ८ महिना पूर्ण रूपमा बन्द हुँदा पनि आजका दिनमा रिभाइभ हुन सक्नु निकै राम्रो हो । हामीले सुगम क्षेत्रमा एभिएसन क्षेत्रलाई पुनर्परिभाषित (रि–डिफाइन) गरेका छौँ । बुद्ध एयरको मात्रै बजार हिस्सा ५७ प्रतिशत हाराहारी छ ।


बुद्ध एयरले अब सन् २०२६ सम्ममा १० वटा ट्विनअटर विमान थप गर्ने योजना बनाएको छ । त्यसबाहेक केही समयपछि नै २ वटा एटीआर ७२५०० विमान पनि खरिद गर्दै छौँ । यस हिसाबले बुद्ध एयरसँग मात्रै १७ वटा एटीआर विमान हुनेछन् । यसको अर्थ अब बुद्ध एयरले मात्रै वार्षिक ३५ लाख यात्रुलाई सेवा दिन सक्नेछ । हाल बुद्ध एयरले वार्षिक २५ लाख यात्रुलाई सेवा दिइरहेको छ ।


(लेखक बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन् । प्रस्तुत लेख नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा प्रकाशित ‘अर्थनीति’ बाट लिइएको हो  )