close

काठमाडौं सहरको नयाँ परिभाषा आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं सहरको नयाँ परिभाषा आवश्यक : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् । बिहीबार आयोजित लगानी बोर्ड बैठकमा अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको जिकिर गरे । धेरै मानिसको बसोबास रहेको स्थानजमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने बताए । हाललाई कम्तीमा तीन वटा ठूला सहर निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

 

‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’ मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योग लागानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए । 

 

पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उनको भनाइ थियो । पर्यटन क्षेत्रमा सगरमाथा योजना, रारा योजनाजस्ता योजना अघि सार्न लगानी बोर्डलाई सुझाए । जलविद्युत् क्षेत्रमा तीन वटा ठूला जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न उनले निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानीजस्ता ठूला आयोजनामा ध्यान दिनुहोस्’, उनले भने । 


काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता उनले औँल्याए । यसका लागि अध्ययन गर्नसमेत उनले निर्देशन दिए । ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिंक (रेलको) बनाए पनि भयो । तर, द्रुत गतिमा पुग्ने हुनुपर्‍यो’, उनले भने, ‘यो योजना बोर्डको विशिष्टीकृत योजनामा समेटिनुपर्‍यो ।’ बैठकमा सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायत सहभागी थिए ।