close

दूधको समर्थन मूल्य तोक्ने सरकारको तयारी

दूधको समर्थन मूल्य तोक्ने सरकारको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले उखुको समर्थन मूल्य निर्धारण गरिसकेपछि अब दूधको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गराएको छ । सो अध्ययनका आधारमा प्रतिवेदन तयार गर्ने काम भइरहेको बोर्डका प्रमुख डा. राजेन्द्र यादवले बताए । उनले भने, ‘हामीले आइतबारसम्म प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाइदिन्छौँ । मन्त्रालयले त्यसलाई अध्ययन गरेर दूधको मूल्य निर्धारण गर्नेछ । ’

 

पुस मसान्तभित्र दूधको मूल्य निर्धारण हुने चर्चा गर्दै उनले प्रदेशबाट अध्ययन गरेर आएका डकुमेन्टलाई अध्ययन गर्ने काम भइरहेको बताए । उनले भने, ‘सातवटै प्रदेशमा छुट्टाछुट्टै टोली गएर दूधको बारेमा अध्ययन गरेका छन् । ती सबैलाई एक ठाउँमा राखेर प्रतिवेदन तयार गरी बोर्डले मन्त्रालयमा बुझाउनेछ ।’


यसअघि प्रशोधित दूधको मूल्य निर्धारण हुने गरेको र त्यसका आधारमा किसानको हिस्सा छुट्याएर कच्चा दूधको मूल्य निर्धारण हुन्थ्यो । यसपालि कच्चा दूधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दूधको अर्को मूल्य निर्धारण गर्ने अध्ययन समितिका एक सदस्यले बताए ।

 

दूध उत्पादनमा लगानी र खर्चको औसत हिसाब निकाल्दा हालको मूल्यमा प्रतिलिटर छ–दस रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने बोर्डले गराएको अध्ययनले देखाएको छ । बोर्डले यसअघि एउटा संस्थाबाट गराएको अध्ययनअनुसार किसानको लगानीअनुसार हालको मूल्यमा छ रुपियाँदेखि १० रुपियाँ मूल्य वृद्धि गर्नुपर्ने सुझाव दिएको छ । हाल दूधको मूल्य प्रतिलिटर ५० रुपियाँदेखि ७० रुपियाँ रहेको छ ।

 

तीन वर्षदेखि दूधको मूल्य वृद्धि भएको छैन । यो बीचमा हरेक कुराको मूल्य वृद्धि भएको छ तर दूधको मूल्य वृद्धि नभएकाले तत्कालै त्यसको मूल्य वृद्धि हुनुपर्ने डेरी उद्योगी तथा किसानको माग छ तर यसमा उद्योगी र किसानको मूल्य फरकफरक प्रस्ताव भएको छ । हालको मूल्यमा डेरी उद्योगीले प्रतिलिटर १० रुपियाँ र किसानले प्रतिलिटर १६ रुपियाँ वृद्धि गरेर दूधको मूल्य निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए ।

 

दूधको उत्पादन खर्च उच्च छ । त्यसमा पूर्वभन्दा पश्चिममा लागत उच्च रहेको अध्ययन समितिको संयोजन गरिरहेका बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए । बोर्डको अध्ययनले पनि लगानीको तुलनामा आम्दानी कम रहेको देखाएको छ ।

बोर्डबाट दूधको मूल्यबारे अध्ययन गर्नुभएका नेपाली डेरी साइन्स एसोसिएसनका सदस्य एवं डेरीविज्ञ डा. विनोद गुप्ताले सातवटै प्रदेशका ११ वटा जिल्लामा गरिएको अध्ययनअनुसार एक लिटर दूध उत्पादन गर्न औसत ६७.०७ रुपियाँदेखि ४५.३७ रुपियाँ खर्च हुने गरेको देखिएको छ तर बिक्री प्रतिलिटर ५० रुपियाँदेखि ७० रुपियाँको दरले हुने गरेको बताए ।

अध्ययन गरेको जिल्लामा दूध उत्पादनको प्रतिलिटर औसत दाना खर्च २५.०७ रुपियाँ रहेको छ । सबभन्दा बढी प्रतिलिटर दानामा खर्च गर्ने जिल्ला बाँकेमा ३३.८९ रुपियाँ र काभ्रेमा २०.३३ रुपियाँ हुने गरेको छ । सप्तरीमा २०.९६, इलाममा २१.१५, चितवनमा २३.२१, कैलालीमा २४.५९, रुपन्देहीमा २४.६०, मोरङमा २५.०० प्रतिशत, सर्लाहीमा २६.४४, कास्कीमा ३१.०० र सुर्खेतमा ३३.८९ रुपियाँ दानामा खर्च हुने गरेको अध्ययनले देखाएको छ ।