close

अर्थतन्त्र आयातमुखी हुनुको मुख्य कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा

अर्थतन्त्र आयातमुखी हुनुको मुख्य कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात रहेको बताएका छन् । नेपाल निर्यात परिषद् (इकोन) को २४औँ साधारणसभा तथा छैटौँ निर्यात दिवस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

 

ठूलो श्रमशक्ति विदेश गइरहँदा त्यसले नेपालको उत्पादनमा असर गरेको बताउँदै उनले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । 

 

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नु नै समस्याको समाधान रहेको जिकिर गरे । ‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य समस्या हो । संकटको कारण यही हो’, मन्त्री शर्माले भने, ‘यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र व्यवसायलाई वृद्धि गरेर रोजगारी सिर्जना गर्नुको विकल्प छैन ।’

 

विभिन्न वस्तुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । नीतिगत, संरचनागत, व्यावहारिक र व्यावसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनले बताए । 


मन्त्री शर्माले इकोनले निर्यात सम्भावना बढाएको बताउँदै प्रशंसा गरे । ‘इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने, ‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढंगले सोचौँ ।’


उनले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे । विगतमा बनाइएका आर्थिक नीति तथा सन्धि सम्झौताको समीक्षा गर्ने समय आएको उनको भनाइ छ ।