close

खैरहनी नगरपालिकामा अनलाइन राजस्व भुक्तानी सेवा

खैरहनी नगरपालिकामा अनलाइन राजस्व भुक्तानी सेवा

Trulli
ADVERTISEMENT

चितवन– चितवनको खैरहनी नगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व तिर्ने सेवा सुरु गरेको छ । अनलाइनबाटै राजस्व तिर्न सकिने सुविधा ल्याइएपछि नगरबासीले अब घरमै बसेर यस्तो सेवा लिन सक्ने नगरपालिकाले बताएको छ । विद्युतीय भुक्तानीमार्फत राजस्व तिर्ने सेवा उपलब्ध गराउने जिल्लाका स्थानीय तहमध्ये खैरहनी पहिलो बनेको हो ।

 

 १ महानगरसमेत रहेको चितवनमा ७ पालिका छन् । अन्यमा यो सेवा हालसम्म सुरु भएको छैन । खैरहनी नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार पहिलो पटक वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राही अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिनेछ ।

 

सिफारिसबाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश ईमेल र मोबाइलमा आउने उनले जानकारी दिए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले विद्युतीय भुक्तानी सेवा सुरु गर्दै सेवालाई प्रचार–प्रसार गरेर अभियानका रूपमा नगरबासीमा पु¥याउनुपर्ने बताए । नगरप्रमुख चौधरीले नगरपालिकाको सेवा– सुविधा र सुशासन कायम गर्न यो प्रविधिले मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

 

सेवाले शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नुका साथै सार्वजनिक सेवालाई भरपर्दाे, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बन्न सहयोग पुग्ने पनि नगरप्रमुख चौधरीको भनाइ छ । खैरहनी वडा नम्बर २ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्त्वपूर्ण भएकाले यो सेवाले नगरबासीलाई सहज हुने बताए ।

 

अहिले खैरहनीमा इलेक्ट्रोनिक सिस्टमबाट राजस्व तिर्ने व्यवस्था छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आन्तरिक नियन्त्रण प्रणालीको समेत सेवा सुरु गरिसकेको छ । संघीय मन्त्रालयले गरेको स्वमूल्यांकन र सूचना प्रविधि लेखाजोखामा खैरहनी नगरपालिका जिल्लामा प्रथम भएको थियो ।