close

घरबहाल कर उठाउँदै सिमकोट गाउँपालिका

घरबहाल कर उठाउँदै सिमकोट गाउँपालिका

Trulli
ADVERTISEMENT

हुम्ला–हुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै  कर उठाउन सुरु गरेको हो ।  गाउँपालिकाले चालु आर्थिक वर्ष घरबहाल करबाट  २० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । घरबहाल करको दर भने १० प्रतिशत निर्धारण गरिएको छ । चालु आर्थिक वर्षको कूल बजेट रु ४७ करोड २७ लाख ८६ हजार रहेको गाउँपालिकाले आन्तरिक आय रु २० लाख उठाउने लक्ष्य राखेको छ भने यस लक्ष्यमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाले चालु आर्थिक वर्ष अभियानकै रुपमा घरबहाल  उठाउने भएको छ । सोही गाउँपालिकाका लेखाप्रमुख विशाल बोहराले भने, ‘गाउँपालिकाभित्र रहेका सरकारी, गैरसरकारी संस्था, वित्तीय संस्था व्यवसायहरुबाट घरबहाल कर सठाउने कार्य सुरु भएको छ ।’ सरोकारवाला पक्षसँग छलफल गरेपछि कर तिर्नुपर्ने व्यक्ति तथा संस्था उक्त कर तिर्न सहमत भएको उनले बताए । 

 

गाउँपालिका कर उठाउन सुरु गरेको पहिलोपटक चारवटा वित्तीय संस्थाले घरबहाल कर  दाखिला गरेको उनले बताए । चालु आर्थिक वर्षमा ४० देखि ५० सरकारी कार्यालय, वित्तीय संस्था, गैरसरकारी र होटेल व्यवसायीबाट उक्त कर असुली हुने भएको छ । 

 

यस्तै  गाउँपालिकाले दोस्रो चरणमा सबै व्यवसायी, व्यक्तिलाई पनि अनिवार्य रुपमा घरबहाल कर तिर्न प्रचारप्रसार गर्ने भएको छ । तेस्रो र चौथो चरणमा घरभाडामा दिने व्यक्तिसँग गाउँपालिकाले छलफल गर्ने भएको छ । यो वर्ष परीक्षणका क्रममा रहेकाले आर्थिक वर्ष २०७९÷८० देखि अनिवार्य गरिने गाउँपालिकाले बताएको छ । आन्तरिक स्रोतको आम्दानी निकै कम भएको सिमकोट गाउँपालिकामा घरबहाल कर सङ्कलन गर्न थालिएपछि गाउँपालिकाको आम्दानीसमेत वृद्धि हुने भएको छ । 

 

यस्तै खार्पुनाथ गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सुरु गर्ने जानकारी दिएको छ । अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोटले चाडै सुरु गर्ने जनाएका छन् । 

 

संविधानले घरबहाल करलाई स्थानीय तहको अधिकार क्षेत्रभित्र पारेको छ । सोही बमोजिम अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले पनि घरबहाल करको सङ्कलन अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारलाई प्रयोग गरी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट पारित गरिसकेका छन् । घरबहाल कर स्थानीय तहको राजस्वको महत्वपूर्ण स्रोत मानिन्छ ।