close

अर्थमन्त्रीको प्रतिबद्धता : जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई धेरै बजेट

अर्थमन्त्रीको प्रतिबद्धता : जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई धेरै बजेट

Trulli
ADVERTISEMENT

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयगत समितिको भर्चुअल बैठकमा उनले सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन् ।

 

‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु’, उनले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिनसक्ने अवस्थामा हुनेछौँ।’

 

अर्थमन्त्री शर्माले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानुपर्नेमा जोड दिए । 

 

संघीयता बलियो बनाउन असल कामको अङ्गिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनले बताएका छन् । त्यस्तै प्रदेश सरकारका मागलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लाने विश्वास उनले दिलाए । 

 

‘अहिले जति बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ’, उनले भने, ‘तपाईँहरूले उठाउनुभएका विषय बारे थप योजना आयोग, राष्ट्र बैंकलगायतसँग बसेर छलफल गर्नेछौँ।’

 

यसैगरी मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पुँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले योजनाको दोहोरोपन हुने गरेको बताउँदै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्नेमा जोड दिए । 

 

संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो। बैठकमा नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनविनाका योजना, संघ र प्रदेश बीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएका गुनासा राखेका छन्।