close

राजनीति सबै समस्याको जड : अर्थमन्त्री शर्मा

राजनीति सबै समस्याको जड : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति अभाव रहेको बताएका छन् । मन्त्रालयमा अर्थविद्सँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीति अभाव रहेको बताएका हुन् । ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिको अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’

 


उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको जिकिर गरे । सबै समस्याको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए ।

 

राजनीतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएका विभिन्न समस्याको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।’

 


मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशयी भइनसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न सुझाए ।

 

विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उनीहरूको सुझाव थियो । यस्तै, कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधारलगायत सुझावसमेत विज्ञले दिए । 

 

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै, भारतका लागि नेपालका पूर्वराजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायत सहभागी थिए ।