close

राजस्व चुहावट रोक्न अर्थमन्त्रीको निर्देशन

राजस्व चुहावट रोक्न अर्थमन्त्रीको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले राजस्व चुहावटलाई जुनुसकै उपाय अपनाएर भए पनि रोक्नुपर्ने बताएका छन् । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअलमार्फत सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्न निर्देशन दिएका हुन् । राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिए । राजस्व भनेको राष्ट्रको रगत, पसिना हो । यो बगेर गइरहेको छ’, उनले भने, ‘हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यसकारण त्यसको नियन्त्रण आजैबाट सुरु गर्नुपर्छ ।’

 

यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने उनले प्रस्ट पारे ।
राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेसन’ आवश्यक रहेको बताउँदै यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने सुनाए । अपरेसनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने पनि उनले जानकारी दिए ।
सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ । यद्यपि हाल संसद्बाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्री स्तरीय तथा मन्त्रिपरिषद्बाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने उनको धारणा छ । मन्त्री शर्माले कतिपय राजस्व चुहावट नागरिकमा चेतना नहुँदा पनि भइरहेको औँल्याए । त्यसैले सचेतनामूलक सन्देश फैलाउन आवश्यक रहेको उनको भनाइ । 


सबै मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको दाबी छ । उनले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिम व्यवस्था गर्ने, द्रुत गतिमा संरचनागत तथा प्रविधि विकासलगायतका कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने धारणा राखे ।


पछिल्लो समय डिजिटल प्रविधिमार्फत राजस्व चुहावटका घटना बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायत अवैध कार्य भइरहेका छन् । आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तःशुल्क स्टिकर प्रयोग गर्ने, भन्सारबिन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्नेलगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै, भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको छ ।