close

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा : अर्थमन्त्री शर्मा

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा : अर्थमन्त्री शर्मा

Trulli
ADVERTISEMENT

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको बताएका छन् । भन्सार विभाग त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मिहिनेत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।

 

‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौँ,’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित भएको छ । तर, यो सधैँका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सिर्जना भएको हो । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’

 

उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने विश्वास लिएको बताए । त्यस्तै, वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सूत्र पहिल्याउन उनले निर्देशन दिए ।

 

उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धि निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिए । माघ मसान्तसम्म लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकामा उनले खुसी व्यक्त गरे ।

 

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाइका बाबजुद ३ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताए । यो गत वर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।

 

कार्यक्रममा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गरे । ‘कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिश नाघेको छ । हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब रुपैयाँको निर्यात गरेका छौँ,’ उनले भने, ‘तर, यत्तिमै रोकिनुहुन्न । प्रत्येक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।’ उनले सबै कर्मचारीलाई मिहिनेत गरेर राजस्व प्रशासन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।