close

ढुंगागिटीबाट आन्तरिक स्रोत बढाउँदै म्याङलुङ

ढुंगागिटीबाट आन्तरिक स्रोत बढाउँदै म्याङलुङ

Trulli
ADVERTISEMENT

तेह्रथुम– स्थानीय स्तरबाट उठाइएको कर र राजस्व नै स्थानीय तहको आन्तरिक स्रोत हो । स्थानीय तहमा करको दायरा फराकिलो गरिँदा आन्तरिक आम्दानी बढेको देखिन्छ । तेह्रथुमको म्याङलुङ नगरपालिकाको आन्तरिक स्रोतले कुल बजेटलाई थोरै भए पनि भरथेग गरिरहेको छ । पाँच वर्षमा राजस्व संकलन प्रक्षेपण गरेअनुसार नभए पनि वृद्धि भने भइरहेको छ । 

 

संविधानमै स्थानीय सरकारले लिने करका विषयमा स्पष्ट व्यवस्था छ । कानुनअनुसार स्थानीय तहले सात प्रकारका कर र करिब ४० प्रकारका व्यवसाय तथा सेवाशुल्क लिन पाउँछन् । यसका अतिरिक्त स्थानीय सरकारका लागि आन्तरिक आय वृद्धिको दर्बिलो माध्यम प्राकृतिक स्रोत उत्खनन हो । म्याङलुङले पनि  ढुंगागिटीबाट अन्तरिक स्रोत वृद्धि गरिरहेको नगरपालिकाका लेखापाल गोपालकृष्ण लिम्बू बताउँछन् ।

 

नगरपालिकाका अनुसार आर्थिक वर्ष ०७५/७६ मा ६५ लाख प्रक्षेपण गरेकामा ५७ लाख १९ हजार ९ सय ३७ मात्रै राजस्व प्राप्त ग¥यो । सोही अनुपातमा बढ्ने अनुमान गर्दै आर्थिक वर्ष ०७६/७७ मा ७८ लाख बढी राजस्व उठने अनुमान गरिए पनि ६३ लाख ३६ हजार ४ सय ८७ रुपैयाँ मात्रै संकलन भयो । जनप्रतिनिधिले ०७७/७८ मा ७० लाख उठ्ने प्रक्षेपण गर्दा ६८ लाख ९१ हजार ५८ रुपैयाँ राजस्व उठ्यो । ०७८/७९ को आर्थिक वर्षमा १ करोड ३१ लाख उठ्ने प्रक्षेपण गर्दा ६० लाख ५० हजार मात्रै रकम प्राप्त भएको छ । 

 

पाँच वर्षे कार्यकालको अन्तिम वर्षमा मात्रै १ करोड बढी राजस्व संकलन हुने प्रक्षेपण गरे पनि त्यो लक्ष्य पूरा हुन सकेन । कतिपय राजस्व असुलीका स्रोतलाई छुट दिइएका कारण पनि कम राजस्व संकलन हुन पुगेको देखिन्छ । नगरपालिकामा प्रशस्तै गाडी भए पनि पार्किङ शुल्क नउठाउने र हाटबजारको कर पनि न्यून भएकाले यो समस्या निम्तिएको धेरैको बुझाइ छ । ढुंगागिटीबाट ६० लाख उठाउने लक्ष्य राखे पनि २० लाखसम्म उठाउन सफल भएको छ । जनप्रतिनिधिले करको दायरा फराकिलो बनाउँदा राजस्व बर्सेनि बढ्दै गएको लेखा अधिकृत लिम्बूको भनाइ छ । 

 

आन्तरिक राजस्व वृद्धि गर्न विभिन्न उपायको खोजीमा जनप्रतिनिधि लागेका छन् । करको दायरा बढाएर सबैलाई कर लगाउने तर थौरैमा करको भार नबढाउने नीति लिइएको छ । नगरपालिकाले सरकारबाट प्राप्त गरेको जेसिबी (डोजर) लाई भाडामा लगाएर पनि आन्तरिक आय बढाउने योजना बनाएको छ । नगरपालिकाले लक्ष्य राखेअनुरुप राजस्व संकलन गर्न सकेको छैन । तर, कर उठाएपछि नगरले नागरिकलाई पारदर्शी सेवा दिइरहेको लेखा अधिकृत लिम्बू दाबी गर्छन् । 

 

नगरपालिकाले सबैलाई करको दायरामा ल्याउन सकेको छैन । कर बुझाउँदा पुग्ने फाइदा र प्राप्त गर्ने सेवा–सुविधाबारे जनप्रतिनिधिले जानकारी गराउन नसक्दा आन्तरिक राजस्व बढ्न नपुगेको देखिन्छ । तर, कहिल्यै नउठ्ने राजस्वको दायरा बढाउन भने जनप्रतिनिधि सफल देखिएकाले आगामी दिनमा प्रक्षेपण पूरा हुनेमा दुईमत छैन ।