close

बजेटले निजी क्षेत्र उत्साहित

बजेटले निजी क्षेत्र उत्साहित

Trulli
ADVERTISEMENT

चितवन । सरकारले आइतबार ल्याएको बजेटले निजी क्षेत्र उत्साहित भएको छ । ठूलो आकारको बजेट भएकाले कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइएको छ । देशकै मध्यभागमा रहेको चितवनका उद्योगी व्यवसायी बजेट निजी क्षेत्रमैत्री भएको बताउँछन् । उद्योग वाणिज्य सङ्घका चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बजेटमा उद्योगका धेरै कुरा समेटिएको बताउँछन् । 


बजेटले चितवनको भौतिक निर्माणका विषयलाई सम्बोधन गरेको भन्दै अध्यक्ष श्रेष्ठ छिमेकी सहरको केन्द्रका रुपमा यसलाई विकास गर्न खोज्नु सकारात्मक रहेको बताउछन् । 


उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेल बजेट सकारात्मक गरेको बताउँछन् । शक्तिखोरमा लामो समयदेखि प्रक्रियामा रहेको औद्योगिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी बनाउने  विषय निकै महत्त्वपूर्ण भएको उनको भनाइ छ । 

सरकारी प्रक्रियाका कारण ढिलो भएको र अब यसले गति लिने उल्लेख गर्दै पूर्वअध्यक्ष पौडेलको भनाइ छ । पचास बिघासम्मको जमिनलाई हदबन्दी नलाग्ने, निर्यातमा सहुलियत बढाउने, उद्योग र व्यापारमा व्याजदर फरक, किसान पेन्सन, कृषकलाई पाँच अर्बको लघुबित्तमार्फत ऋण जस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको छ ।


पर्यटन व्यवसायीले पनि बजेटलाई सकारात्मक भनेका छन् । कोभिडका कारण थला परेको व्यवसाय उकास्न बजेट सहयोगी हुने उनीहरुको बुझाइ छ । क्षेत्रीय होटल सङ्घका जिल्लाअध्यक्ष दीपक भट्टराई समग्रमा बजेट स्वागत योग्य रहेको बताउँछन् । पर्यटन क्षेत्रमा नयाँ कुरा नआए पनि पुराना महत्वपूर्ण पक्षलाई समाबेस गरिएको भन्दै उनी भौतिक पूर्वाधारमार्फत सहजरुपमा सहरलाई जोड्नु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको उल्लेख गर्छन् । 


पोल्ट्री क्षेत्रमा भने बजेटले सम्बोधन गर्न नसकेको सम्बद्ध व्यवसायीको गुनासो छ । नेपाल दाना उद्योग सङ्घ केन्द्रीय समितिका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराईले पोल्ट्री क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको बताए । विगत तीन वर्षदेखि भटमासमा लाग्दै आएको नौ प्रतिशत र मकैमा पाँच प्रतिशत भन्सार शुल्क घट्नुपर्ने माग व्यवसायीको छ । शतप्रतिशत भटमास र ७० प्रतिशत मकै बाहिरबाटै आउँछ । पूर्वअध्यक्ष भट्टराई कोभिड र बर्डफ्लुका कारण थलिएको पोल्ट्री क्षेत्रलाई बजेटमा सम्बोधन गर्नुपर्नेमा त्यसो नहुँदा व्यवसायी विस्थापित हुनेसक्ने गुनासो गर्छन् । 


कृषि क्षेत्रमा काम गर्दै आएका उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम बजेटले आफ्नै उत्पादन आफ्नै उपभोग भन्दै आत्मनिर्भरतातर्फ जान खोज्नु सकारात्मक रहेको बताउछन् । बजेट ठूलो आकारमा आएकाले कार्यान्वयन पक्ष चुनौती पूर्ण रहेको उनको भनाइ छ । विलाशिताका वस्तुको मूल्य बढाएसँगै विकल्पसमेत सोच्नुपर्ने पूर्वअध्यक्ष गौतम बताउँछन् ।