close

११ महिनामा साढे १७ खर्बको आयात, साढे २ खर्बको तेल निर्यात

११ महिनामा साढे १७ खर्बको आयात, साढे २ खर्बको तेल निर्यात

Trulli
ADVERTISEMENT

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा नेपालले १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्याङ्क अनुसार ११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्याँसको आयातमा दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो । 

यस्तै, एघार महिनाको अवधिमा नेपालबाट एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।