close

मौद्रिक नीति : आर्थिक वृद्धिको लक्ष्यमा चुनौती कायमै

मौद्रिक नीति : आर्थिक वृद्धिको लक्ष्यमा चुनौती कायमै

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सञ्चालक समितिबाट पारित भएपछि गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति जारी गरेका हुन्।

आर्थिक कार्यदिशा तयार पार्दा मुख्य रुपमा मूल्यमा परेको चाप र बढ्दो चालु खाता एवम् शोधानान्तर घाटाका कारण बाह्य क्षेत्रमा परेको दबाबलाई केन्द्रमा राखेर चालू आवको मौद्रिक नीति तयार पारिएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेटका लक्ष्य र प्राथमिकता, वर्तमान आर्थिक तथा वित्तीय स्थिति एवम् सरोकारवाला निकायहरूबाट सुझाव समेटेर मौद्रिक नीति जारी गरिएको हो।

आर्थिक वर्ष ०७९/८० मा विस्तृत मुद्रा प्रणालीको वार्षिक वृद्धिदर १८ प्रतिशत रहने अनुमान गरिएकोमा जेठ मसान्तसम्म वार्षिक बृद्धिदर ९ प्रतिशत कायम भएको छ। चालू आर्थिक वर्षको आर्थिक वृद्धि औसतभन्दा उच्च रहने गभर्नर अधिकारीले प्रक्षेपण गरेका छन्।

कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने उनले बताएका छन्। यद्यपि राष्ट्र बैंकले कोभिडको समयमा राहत स्वरूप जारी गरिएका सहुलियतहरू हटाउँदै लैजाने योजना पनि बनाएको छ ।

चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा भएको रासायनिक मलको अभावले भने आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने अनुमान गरिएको छ। त्यस्तै बाह्य क्षेत्र (अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायत) ले पनि आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने राष्ट्र बैंकको प्रक्षेपण छ ।

यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धि समेत आर्थिक वृद्धिको लक्ष्यमा चुनौती बनेर आउन सक्ने राष्ट्र बैंकको आङ्कलन छ ।

उता शेयर कारोबारीहरूको दबाबमा झेल्दै आएको अवस्थामा शेयर धितो बापत पाइने ऋणको दायरामा सुधार गरिँदै ४ करोडको हदलाई हटाइएको छ। तर, राष्ट्र बैंकले वाणिज्य बैंकलाई दिने कर्जामा भने ब्याज बढाएको छ ।