close

धनगढीको बेरुजु शून्यमा झार्न ५ सदस्यीय समिति गठन

हालको बेरुजु रकम ३४ करोड ८८ लाख ४१ हजार

धनगढीको बेरुजु शून्यमा झार्न ५ सदस्यीय समिति गठन

हालको बेरुजु रकम ३४ करोड ८८ लाख ४१ हजार

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाको पेस्की बेरुजु दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ लाख पेश्की बेरुजु रहेकोमा आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दोब्बर अर्थात् ११ लाख ९४ हजार पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल बेरुजु १० करोड २२ लाख ४४ हजार कायम भएकोमा २०७९ सम्म अद्यावधिकसहितको बेरुजु रकम ३४ करोड ८८ लाख ४१ हजार पुगेको हो । चालु आर्थिक वर्षदेखि बेरुजु रकम घटाउन ५ सदस्यीय लेखा समिति नै गठन गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए ।

‘उपमहानगरको बेरुजु घटाउने तथा बिना प्रमाण र कागजात कुनै पनि भुक्तानी नदिने, पुराना सम्पूर्ण बेरुजु रकमलाई घटाउने र चालु आर्थिक वर्षदेखि कुनै पनि प्रकारको बेरुजू नरहने गरी काम गर्न ५ गते बसेको कार्यपालिका बैठकले ५ सदस्यीय लेखा समिति नै गठन गरेको छ’ उनले भने ।

समितिले महालेखा प्रतिवेदनले बेरुजूमाथि औल्याएका विषयमा छलफल र समिक्षा गरेर चालु आर्थिक वर्षदेखि कुनैपनि प्रकारको बेरुजू नरहने गरी कामको सुरुवात गरिने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । बेरुजु घटाउनेतिर यसअघि भने उपमहानगरको ध्यान जान सकेको थिएन ।

धनगढी उपमहानगरको बेरुजू आर्थिक वर्ष २०७४/७५ मा ९५ लाख ३५ हजार मात्र थियो भने पेश्की बेरुजु ४४ लाख ८७ हजार थियो । बेरुजु रकम आर्थिक वर्ष २०७५/७६ मा भने बढेर १५ करोड ४३ लाख ६७ हजार तथा पेश्की बेरुजु अहिलेसम्मकै बढी अर्थात\ ८ करोड ३६ लाख ४६ हजार नाघेको थियो । 

प्रमाणबिना भुक्तानी दिने प्रवृत्तिका कारण उपमहानगरको बेरुजु हरेक वर्ष बढ्दै गएको छ । असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने रकमतिर उपमहानगरको ध्यान जान सकेको थिएन । विधि र प्रक्रियाविपरीत गरिने भुक्तानीका कारण आर्थिक पारदर्शिताको सवालमा समेत उपमहानगर चुक्दै गएको सरोकारवाला बताउँछन् ।