close

चीनले कडाइ गर्दा सीमा नाकासँग जोडिएका स्थानीय तह मारमा

चीनले कडाइ गर्दा सीमा नाकासँग जोडिएका स्थानीय तह मारमा

Trulli
ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण बन्द भएका चीन–नेपालका सीमा नाका राम्रोसँग सञ्चालन हुन नपाउँदै चीनले एकपछि अर्को गर्दै पुनः बन्द गर्ने क्रमलाई बढाएको छ । 

पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि चीनले एकपछि अर्को गर्दै नेपालसँग जोडिएका नाका बन्द गर्दै लगेको हो ।

चीनसँग जोडिएका विभिन्न नाकामध्ये सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाकामा चीनले अघिल्लो बुधबारदेखि थप कडाइ गरेको छ । 

नाकामा कडाइ सुरु भएसँगै दैनिक १० वटा मालबाहक गाडी मात्र चीनबाट नेपालतर्फ आउने गरेको भोटेकोशी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पाले जानकारी दिए । 

तातोपानी नाकामा कडाइ गर्दा भोटेकोसी गाउँपालिकाका बासिन्दाको दैनिकीमा असहजता भएको उनले बताए । 
‘नाका सञ्चालन हुँदा स्थानीय तहमा राजस्व सङ्कलन हुन्थ्यो । साथै, हाम्रो दैनिकी पनि सहजता भएको थियो,’ उनले भने, ‘अहिले दैनिक उपभोग्य सामाग्री महँगो शुल्क तिरेर किन्नुपरेको छ ।’

नाका बन्दीका कारण सामान आयात निर्यात रोकिनुका साथै दैनिक ज्यालादारीको  मजदुरी पनि खोसिएको उनले बताए । 
नाका बन्दीका कारण साना व्यवसायीको व्यवसाय धरापमा परेको उनको भनाइ छ । 

यसअघि सो नाका लामो समयदेखि पूर्ण रुपमा सञ्चालन हुन नसकेको उनले जानकारी दिए । यस्तै, हुम्लाको नाम्खा गाउँपालिकामा अवस्थित हिल्सा नाका तीन वर्षदेखि बन्द छ । 

जसको मारमा तिब्बतको ताक्ताकोट बजारबाट किनमेल गरेर दैनिक उपभोग्य सामाग्री प्रयोग गर्ने स्थानीय परेका छन् ।
नाका सञ्चालन हुन नसकेका कारण हेलिकोप्टरबाट खाद्यान्न र आवश्यक सामाग्री  गाउँसम्म पुर्‍याउनपर्ने बाध्यता रहेको नाम्खा गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर लामा बताउँछन् । 

नेपालगञ्ज, सुर्खेत र काठमाडौंदेखि हेलिकप्टरबाट सामान गाउँमा पुर्‍याउने गरिएको उनले बताए । हेलिकोप्टरबाट सामान लैजाँदा स्थानीयले महँगो शुल्क तिर्न बाध्य भएको उनको भनाइ छ । 

‘नाका खोल्न केन्द्रले चासो दिएको छैन । स्थानीय तहसँग नाकासम्बन्धी निर्णय लिने अधिकार छैन,’ उनले भने । 
नाकामा विभिन्न व्यापार र मजदुर गर्ने मानिसको रोजीरोटीसमेत खोसिएको उनले बताए । 

नेपाल–चीनको अर्को प्रमुख व्यापारिक नाका हो रसुवागढी ।  

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा अवस्थित यो नाका पछिल्लो समयमा कोरोनाकै कारण बन्द भएको छ । कोरोना कहरका कारण बन्द भई खुलेको यो नाका चीनले पुनः कोरोनाको कारण देखाउँदै गत हप्तादेखि बन्द गरेको हो । 
नाका बन्द भएपछि सवारीसाधन आवतजावत ठप्प छन् ।

जसका कारण राजश्व सङ्कलन रोकिनुका साथै सवारी साधनचालक, भरियाको रोजीरोटी गुमेको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैशाङ नुर्पु तामाङले बताए ।   

सीमा नाका बन्द भएका कारण स्थानीय महँगोमा सामान किन्न बाध्य भएको उनले बताए । यस्तै, सीमा नाकामा रोजीरोटी गुमाउनेहरू कामका लागि विदेश पलायन हुँदा गाउँ खालि हुने अवस्थामा पुगेको उनको भनाइ छ । 

उत्तरी नाकाबाट प्रायजसो इलेक्ट्रोनिक तथा मेसिनरी सामान, लत्ताकपडा आउने गरेका छन् । तर, नाकाबन्दपछि व्यवसायीले वैकल्पिक बाटो प्रयोग गरी सामान ल्याउँदा बढी मूल्य पर्ने गरेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । 

‘पछिल्लो समय उत्तरी नाकाबाट सामान आयात दर बढ्न थालेको थियो । तर, कोरोनाका कारण नाकाबन्दीका कारण आयात दर फेरि सुस्ताएको छ,’ उनी भन्छन् ।